• ४ साउन २०८१, शुक्रबार

राष्ट्रसङ्घ मुख्यालयमा मिथिला कला

blog

काठमाडौँ, असार ३१ गते । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा नेपाली मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । असार २४ गते सोमबारदेखि सुरु भएको सो प्रदर्शनी साउन २ गते बुधबारसम्म सञ्चालन हुने जनाइएको छ ।

‘संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज’ नारासाथ सुरु भएको प्रदर्शनीको उद्घाटन संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८ औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले गर्नुभएको थियो ।

मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दूतावास न्युयोर्कको संयुक्त आयोजनामा सो प्रदर्शनी भएको हो । प्रदर्शनी संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी दिगो विकास लक्ष्य (एसडिजी) को उच्चस्तरीय सम्मेलनलाई लक्षित गरी आयोजना गरिएको जनाइएको छ ।

प्रदर्शनीमा सहभागी मिथिला कलाकार प्रतीक रायमाझीका अनुसार समारोहलाई स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले सम्बोधन गर्दै मिथिला चित्रकलाले जलवायु परिवर्तनले पारेको प्रभावलाई साङ्केतिक रूपमा दिएको सन्देशलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो ।

मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमितप्रताप शाहले मिथिला चित्रकला प्रदर्शनीले दिगो विकास लक्ष्य हासिल गर्नका लागि अपनाउनुपर्ने नीतिबारे दबाब दिने बताउनुभयो । उहाँले जलवायु परिवर्तन, वातावरणीय चेतनासँगै दिगो विकास लक्ष्य हासिल गर्न सांस्कृतिक सम्पदाको भूमिका महŒवपूर्ण हुने भएकाले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो ।

मिथिला कलाकार प्रतीक रायमाझीले मिथिला कला प्रकृतिसँग जोडिएको र यसले पारेको प्रभाव चित्रकलाबाट प्रस्तुत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मिथिला कला र संस्कृति प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने तथा वर्तमान सन्दर्भमा जलवायु परिवर्तनले पारेको असर चित्रकलामार्फत प्रस्तुत गरेका छौँ । प्रदर्शनीले मिथिला कला र नेपाली संस्कृतिको प्रवर्धनमा टेवा पुग्ने छ ।”

प्रदर्शनीमा एसके सुमन, प्रतीक रायमाझी, नुपुर निसिथ, शैली झा, शिभाङ्गी सिंह, मनिषा शाह, सेलो यादव, सुधिरा कर्ण, कोमल पुर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको मिथिला कला राखिएको छ ।