राममणि दाहाल
हेटौँडा, असार ३१ गते । हेटौँडा उपमहानगरपालिकाले एक दशकभन्दा लामो समयपछि उपमहानगरको आवधिक विकास योजना बनाएको छ । नगरको विगत सात वर्षको वार्षिक योजना, नगरको हालसम्म तर्जुमा भएका गुरुयोजना तथा अन्य अध्ययन प्रतिवेदन, नगरको विगत सात वर्षको वार्षिक समीक्षा, स्थानीय तहको प्रमुख समस्या र सम्भावनालगायतका आधारमा आवधिक योजना आर्थिक वर्ष २०८१/८२–२०८५/८६ तयार गरिएको हो ।
तत्कालीन हेटौँडा नगरपालिकाको पहिलो आवधिक योजना आव २०६८/६९–२०७२/७३ बनेर कार्यान्वयनमा आएको थियो ।
गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना बनाएर लागु गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था छ तर मुलुक सङ्घीय संरचनामा गएर पहिलो पटक भएको स्थानीय तहको निर्वाचित कार्यकालभर र दोस्रो पटक भएको निर्वाचनको दुई आर्थिक वर्षसहित आठ आवमा उपमहानगरपालिकाले आवधिक योजनाबिना नै काम गर्दै आएको थियो ।
विभिन्न आठ तह पूरा गरी बनाइएको आवधिक योजनाको दीर्घकालीन सोच स्वच्छ, उत्पादनशील, समृद्ध सहर हेटौँडा रहेको उपमहानगरपालिकाले जनाएको छ । स्वस्थ र सन्तुलित पर्यावरण, पूर्ण सरसफाइ सुविधा र जैविक कृषि प्रणालीको विकास गरी स्वच्छ उपमहानगर बनाउने परिकल्पना गरिएको छ । यस्तै आर्थिक विकासमा वस्तु तथा सेवाको विस्तार तथा रोजगार प्रवर्धन, उत्पादन र आत्मनिर्भर हुने क्षमता, प्रभावकारी नतिजा, परिणाममुखी उत्पादन र उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गरिने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले पञ्चवर्षीय आवधिक योजनाको लक्ष्य उपलब्ध स्रोतसाधनको विवेकपूर्ण उपयोग गरी दिगो विकासको माध्यमबाट सामाजिक न्यायमा आधारित समृद्ध पालिका निर्माण गर्ने रहेको जानकारी दिनुभयो ।
यसै गरी स्थानीय स्रोतसाधनको उच्चतम उपयोग गरी दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्नु, समानता, समन्यायिक तथा समावेशीकरणका आधारमा समतामूलक समाजको आधार निर्माण गर्नु, दिगो तथा गुणस्तरीय भौतिक पूर्वाधार विकास गर्नु, पारदर्शी र जवाफदेही सार्वजनिक सेवामार्फत सुशासनको प्रवर्धन गर्नु, वन, वातावरण तथा जैविक विविधताको संरक्षण गर्नु र ‘समृद्ध नगर सुखी नगरवासी’ को अवस्था हासिल गर्नु आवधिक योजनाको उद्देश्य छ । आवधिक योजनामा नगरको विकासका प्रमुख संवाहकमा उद्योग, कृषि, सेवा (शिक्षा, स्वास्थ्य तथा प्रशासनिक क्षेत्र) र पर्यटन राखिएको छ ।
उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले आवधिक योजना आगामी आवबाट कार्यान्वयनमा आउने जानकारी दिनुभयो । उहाँले आवधिक योजनाका विषय उपक्षेत्रगत योजनामा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपत् व्यवस्थापन समिति र संस्थागत विकास तथा सुशासनलगायतका रहेको बताउनुभयो ।
एघार वटा गौरवका योजना
उपमहानगरपालिकाले आवधिक योजना अवधिमा कार्यान्वयन गर्न ११ वटा योजनालाई नगर गौरवका योजनाका रूपमा तय गरेको छ ।
नगर गौरवका योजनामा हेटौँडा कम्प्लेक्स, हेटौँडा टर्मिनल बसपार्क निर्माण, प्रादेशिक कृषि थोक बजार र हेटौँडा उपमहानगरपालिका चव्रmपथ, गुम्बाडाँडा मूर्ति पार्कलाई अन्तर्राष्ट्रियस्तरको मूर्ति कार्यशाला पार्कका रूपमा विकास गर्ने रहेको छ ।
यस्तै नगर गौरवका योजनामा सात किमी लम्बाइको कर्रा कोरिडोर, अटो भिलेज निर्माण तथा व्यवस्थापन, लेवट ट्रक टर्मिनल, प्राणी उद्यान स्थापना (वन विज्ञान प्रतिष्ठानको सहरी वनमा), हेटौँडा–१६, १७ र १८ मा ल्यान्ड पुलिङ र मदन भण्डारी मार्गलाई (हेटौँडा–१६, १७ र १८) कोरिडोरका रूपमा विकास गर्ने कार्यलाई समेटिएको छ ।
आवधिक योजना अवधिमा नगर गौरवका योजनालगायत कार्यका लागि साढे छ अर्बभन्दा बढी खर्च हुने अनुमान छ ।
आव २०८१/८२–२०८५/८६ मा सामाजिक क्षेत्र, आर्थिक क्षेत्र, भौतिक पूर्वाधार क्षेत्र वन तथा वातावरण क्षेत्र र संस्थागत क्षेत्रका लागि गरी आवधिक योजनाको बजेट छ अर्ब ५६ करोड ५५ लाख ८५ हजार रुपियाँ हुने भएको छ ।
आवधिक योजना अवधिमा सबैभन्दा बढी बजेट आव २०८२/८३ का लागि एक अर्ब ५१ करोड २८ लाख २१ हजार रुपियाँ रहेको आवधिक योजनामा उल्लेख छ ।
साथै यो अवधिमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा दुई अर्ब ३१ करोड ८३ लाख र सबैभन्दा कम वन तथा वातावरण क्षेत्रमा ३१ करोड ७४ लाख ९० हजार र त्यसपछि संस्थागत क्षेत्रका लागि ३२ करोड २६ लाख पाँच हजार बजेटको व्यवस्था हुने भएको छ ।