• ४ साउन २०८१, शुक्रबार

पुँजी बजार दुई वर्षयताकै उच्च बिन्दुमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३१ गते । लामो समयको अन्तरमा पुँजी बजारमा उच्च अङ्कको सुधार भएको छ । त्यस्तै कारोबार रकम पनि उच्च भएको छ । पुँजी बजारको यस्तो सुधार दुई वर्षयताकै राम्रो हो । नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बन्ने र अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा चलेपछि सेयर बजारमा उच्च वृद्धि भएको हो । 

आइतबार नेप्से परिसूचकले साढे २२ सयको विन्दु नाघेको छ । २०७९ वैशाख २८ को २२५७.५९ को विन्दुपछिको नेप्सेमा यो उच्च सुधार हो । सो दिन बजार २२५७.५९ को विन्दुमा पुगेर बन्द भएको थियो । परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे सात अर्ब नाघेको छ । कारोबार रकम पनि पाँच महिनायताको उच्च रहेको छ । २०८० माघ ७ गते सात अर्ब ६७ करोड रुपियाँको सेयर कारोबार भएकामा आइतबार सात अर्ब चार लाख ९८ हजार ५२० रुपियाँको सेयर कारोबार भएको छ । 

यो अघिल्लो कारोबार दिनको तुलनामा ५४ करोड रुपियाँले बढी हो ।

आइतबार नेप्से परिसूचक ५२.९७ अङ्कले उकालो लागेर २२५७.५९ को विन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स पनि ९.५९ अङ्कले उकालो लागेर ४०१.२५ को विन्दुमा पुगेको छ । 

आइतबार ३०९ कम्पनीको दुई करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर ९६ हजार २७४ पटक खरिदबिव्रmी हुँदा सात अर्ब ६२ करोड चार लाख ९८ हजार ५२० रुपियाँ बराबरको सेयर कारोबार भएको छ । 

लगानीकर्ताको बैङ्किङ उपसमूहमा आकर्षण देखिएको छ । आइतबारको कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक उकालो लागेकामा बैङ्किङ उपसमूह सर्वाधिक ३.७४ प्रतिशतले बढेको हो । त्यस्तै वित्त उपसमूह ३.३३ प्रतिशत, जलविद्युत् ३.३० प्रतिशत, उत्पादन तथा प्रशोधन २.६६ प्रतिशत, व्यापार २.२१ प्रतिशत, जीवन बिमा २.०५ प्रतिशतले उकालो लागेको छ । बाँकी उपसमूहको परिसूचक पनि एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

बैङ्कहरूले निरन्तर रूपमा घटाएको कर्जा र निक्षेपको ब्याजदर तथा अर्थतन्त्रले विस्तारै लय लिँदै गरेका तथ्याङ्क सार्वजनिक भइरहँदा बजारले लय समाएको ब्रोकर विष्णु गिरीले बताउनुभयो ।

नयाँ सरकार सेयर बजारप्रति उदार होला भन्ने अपेक्षा लगानीकर्तामा रहेको र सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने अभिव्यक्ति दिइरहँदा लगानीकर्ताको अपेक्षा बढेको ब्रोकर गिरीको भनाइ छ ।