• १३ साउन २०८१, आइतबार

भाजपाले डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने

blog

नयाँदिल्ली,  असार  ३० गते । भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डाको कार्यकाल समाप्त भएको छ । उहाँको कार्यकाल सन् २०२४ को जुनसम्म लम्बिए पनि अहिले उहाँलाई सरकारभित्र महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । त्यसैले भाजपा अब नयाँ अध्यक्षको खोजीमा छ ।

भाजपाले यस वर्षको डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने लक्ष्य राखेको छ । यस पदका लागि अगस्ट १ देखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । राष्ट्रिय अध्यक्षको निर्वाचनअघि जिल्ला र प्रदेश एकाइलाई सुदृढ गर्दै बृहत् सदस्यता अभियान सञ्चालन गरिने छ ।

नयाँ भाजपा राष्ट्रिय अध्यक्ष चयन गर्ने प्रक्रिया अगस्ट १ मा सुरु हुनेछ । प्रारम्भमा, सदस्यता अभियान सुरु हुनेछ र यो सेप्टेम्बर १५ सम्म चल्नेछ । त्यसपछि, सेप्टेम्बर १६ देखि सेप्टेम्बर ३० सम्म सक्रिय सदस्यता अभियान चल्नेछ । अक्टोबर १ देखि अक्टोबर १५ सम्म सक्रिय सदस्यता प्रमाणीकरण सञ्चालन गरिनेछ ।

भाजपाको विधानअनुसार प्रत्येक सदस्यले प्रत्येक नौ वर्षमा सदस्यता नवीकरण गर्नुपर्छ । यस वर्ष सदस्यता अभियानमा प्रधानमन्त्री, पार्टी सभापति र सबै दलका नेताहरूले सदस्यता नवीकरण गर्नुपर्नेछ ।

नोभेम्बर १ देखि नोभेम्बर १५ सम्म भाजपाले मण्डल ९स्थानीय एकाइ० अध्यक्षहरूका लागि चुनाव गर्नेछ । यसपछि नोभेम्बर १६ देखि नोभेम्बर ३० सम्म जिल्ला अध्यक्षको निर्वाचन हुनेछ ।

मण्डल र जिल्ला अध्यक्षको निर्वाचनपछि प्रदेश परिषद् र केन्द्रीय परिषद्का सदस्य चयन हुने भाजपाभित्रको स्रोतले जनाएको छ । यो निर्वाचनपछि मात्र प्रदेश सभापति चयनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेश सभापतिको निर्वाचन प्रक्रिया डिसेम्बर १ देखि सुरु हुनेछ । पचास प्रतिशत प्रदेशमा निर्वाचन सम्पन्न भएपछि राष्ट्रिय अध्यक्ष चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।

यो व्यवस्थित र चरणबद्ध दृष्टिकोणले भाजपाको सङ्गठनात्मक संरचना बलियो र नेतृत्व सङ्क्रमणका लागि तयार रहेको सुनिश्चित गर्दछ । पार्टीले भावी राजनीतिक चुनौती र अवसरको तयारी गर्ने भएकाले आगामी निर्वाचन महत्त्वपूर्ण छ ।

नड्डालाई राज्यसभामा सदनको नेता नियुक्त गरिएको छ । नड्डा गुजरातबाट राज्यसभा सांसद निर्वाचित हुनुभएको छ । सन् २०२४ को लोकसभा निर्वाचनपछि उहाँलाई मोदी क्याबिनेटमा स्वास्थ्य, रसायन र उर्वरक विभागको जिम्मेबारी दिइएको छ । 

रासस/एएनआई