• १६ भदौ २०८१, आइतबार

पोखराको झिझिर्कामा ५ घर विस्थापित, २६ घर जोखिममा

blog

पोखरा महानगरपालिका वडा २५, हेम्जाको झिर्झिकामा माथिबाट आएको पहिरो व्यवस्थापनको प्रयास गर्दै स्थानीय ।

रमेश पौडेल

पोखरा, असार ३० गते ।  पोखरा महानगरपालिका वडा नं. २५, हेम्जाको झिझिर्का फलामे खेतमा आएको पहिरोले ५ घर विस्थापित भएका छन् भने २६ घर पहिरोको उच्च जोखिममा छन् । अविरल वर्षाका कारण निरन्तर गएको पहिरोले झण्डै ५० रोपनी जग्गा पुरिसकेको छ । 

गण्डकी प्रदेशसभाका सदस्य गणेशमान गुरुङका अनुसार पहिरोले झण्डै चारसय रोपनी खेतमा असर गरेको छ । उहाँका अनुसार स्थानीय एकदत्त अधिकारी, छविलाल अधिकारी, कपिलप्रसाद अधिकारी, वासुदेव अधिकारी, शिवदत्त अधिकारीको घर परिवार विस्थापित भएको छ । 

समयमै पहिरो नियन्त्रण गर्न सकिएन भने पोखरामा आउने मर्दीखोलाको पानी बन्द हुने सम्भावना छ । सो पहिरो मुहाननजिक भएकाले अहिले गेग्रान थुपारेको छ । अहिले पोखरेलीले धमिलो पानी खान बाध्य छन् । मुहान बगायो भने त्यही पानी नपाउने अवस्था आउनसक्ने कांग्रेस नेता मनोज गुरुङले बताउनुभयो । समयमा सम्बन्धित निकायबाट आवश्यक कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

कमेरो र बलौटेसहितको माटो भएकाले वातावरण तथा भूगर्भविद्को टोलीले अनुगमन गरी रोकथामको उपाय गर्नुपर्ने सांसद गुरुङले बताउनुभयो । स्थानीय ऋषि गौतमले विगत चार–पाँच वर्षअघि पनि पहिरोमा एक जनाको मृत्यु भएको छ । तत्कालका लागि पोखरा महानगरपालिकाले २५ वटा तारजालीको व्यवस्था गरे पनि जाली भर्न नसकिएको उहाँको भनाइ छ । 

यता, पोखरा महानगरपालिका प्रवक्तासमेत रहनुभएका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले पहिरो नियन्त्रणका लागि महानगर मात्र नभइ सबै पक्ष मिलेर दीर्घकालीन योजनाअनुरुप अगाडि बढ्नुपर्ने बताउनुभयो । हेम्जादेखि बेलबोट, धिताल, धम्पुस हुँदै निर्माण गरिएको सडकबाट बर्खाको समय पानी एकीकृत भएर उक्त स्थानमा आउँदा असर परेको स्थानीयको भनाइ छ ।