• ६ साउन २०८१, आइतबार

केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

blog

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौँ, असार ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा  (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको जानकारी दिनुभएको हो । 

शुक्रबार (असार २८ गते) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा प्रतिनिधि सभाबाट विश्वास गुमाउनु भएको थियो । सङ्घीय संसदमा उपस्थित २५८ सांसदमध्ये प्रचण्डले पेस गर्नुभएको विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो । एक सांसद तटस्थ बस्नुभएको थियो ।

प्रचण्डले सदनबाट प्रधानमन्त्री पद गुमाएलगत्तै राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । सो समय आइतबार अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको थियो । निर्धारित समयभित्र प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न आग्रह गर्दै संयुक्त रूपमा राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।


अध्यक्ष ओली कांग्रेसको प्रस्ताव र सहयोगमा नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा सिफारिस हुनुभएपछि राष्ट्रपति पौडेलले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सोमबार नै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । कांग्रेस र एमालेले आफ्नो दलबाट मन्त्रीमा पठाउनेको नाम टुङ्गो लगाएको दलका नेताले बताएका छन् ।

प्रधानमन्त्रीमा चौथो कार्यकालका लागि नियुक्त हुनुभएका अध्यक्ष ओली यसअघि २०७२ असोज २५ मा प्रथम पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सो कार्यकाल करिब १० महिना अर्थात् २०७३ साउन १९ गतेसम्म कायम रह्यो । त्यस्तै, दोस्रो पटक ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सो कार्यकाल ३ वर्ष ९ महिना अर्थात् २०७८ वैशाख ३० गतेसम्म कायम रह्यो । 

सोहीअनुसार प्रधानमन्त्रीमा उहाँको तेस्रो कार्यकाल २०७८ वैशाख ३० देखि २०७८ असार २९ अर्थात् दुई महिना प्रधानमन्त्रीमा कायम रहनुभयो । तत्कालीन नेकपामा विभाजन आएपछि उहाँ पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अहिले चौथो कार्यकालका लागि २०८१ असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । 

प्रधानमन्त्रीमा नियुक्त ७१ वर्षीय ओलीको राजनीतिक सङ्घर्ष लामो छ । वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको आठराई इवा गाउँको एक किसान परिवारमा जन्मनुभएका ओली पटक–पटक गरी १४ वर्षसम्म जेल बस्नुभएको छ । उहाँको खास नाम खड्गप्रसाद ओली भए पनि राजनीतिमा उहाँलाई केपी शर्मा ओलीको नामले चिनिन्छ ।