• १३ साउन २०८१, आइतबार

सबै भन्दा बढी बागमतीमा

१५ सय जनामा डेंगु पुष्टि

blog

काठमाडौँ, असार ३० गते। देशभर एक हजार ५४४ जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार ७३ जिल्लामा एक हजार ५४४ जनामा डेंगु पुष्टि भएको हो।

इडिसिडीको तथ्याङ्कअनुसार हालसम्म कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहेक ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिसकेको छ।

अहिलेसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगु पुष्टि भएको छ। बागमती प्रदेशमा ५३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। कोशीमा ३७१, गण्डकीमा २३०, लुम्बिनीमा १८१, सुदूरपश्चिममा १६४, मधेशमा ३९ र कर्णाली प्रदेशमा २१ जनामा डेंगु पुष्टि भएको छ। 

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौंमा १८५, झापामा १२३ जनामा डेंगु पुष्टि भएको छ।त्यसैगरी, चितवनमा ९०, मकवानपुरमा ७०, डोटीमा ५०, तनहुँ ५३, सिन्धुपाल्चोकमा ४६, ओखलढुङ्गामा ५३, भोजपुरमा ४६, काभ्रेमा ३९ जनामा डेंगु पुष्टि भएको छ।

डा. दाहालका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो। उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन्।लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन उहाँको सुझाव छ।