• १३ साउन २०८१, आइतबार

मृतकका परिवारलाई छ लाख ५० हजार राहत

blog

फाइल तस्बिर

गलकोट (बागलुङ), असार ३० गते । मनसुनजन्य विपदबाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपदमा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले छ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ । 

बागलुङमा मनसुनजन्य विपदबाट गलकोट नगरपालिकामा एकै परिवारका दुई जनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो । मनसुनजन्य विपदबाट मृत्यु भएकाको परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

यही असार २७ गते राति बागलुङ-७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको थियो । मृतक शर्माकी छोरी निर्मला शर्मालाई दुई लाख ५० हजार नगद प्रदान गरिसकिएको सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार सङ्घीय सरकारको दुई लाख र प्रदेश सरकारको ५० हजार रकम मृतकको परिवारलाई प्रदान गरिएको छ । 

यस्तै, यही असार १५ गतेको राति अविरल वर्षाले घर पुर्दा श्रीमान-श्रीमतीको मृत्यु भएको थियो । गलकोट-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो । मृतक श्रीमान-श्रीमतीको परिवारलाई चार लाख एक मुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो । रासस