• १९ असोज २०८१, शनिबार

वर्षाले देशभर जनजीवन प्रभावित

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असार २३ गते  । सिन्धुली जिल्लामा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध हुनुका साथै ग्रामीण सडकसमेत प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले पहिरोका कारण बिहानदेखि नै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग जेसिबी लगाई पहिरो पन्छाएर दिउँसोदेखि यातायात सञ्चालन भएको बताउनुभयो ।

प्रहरीका अनुसार बिपी राजमार्गको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटको सडकमा माथिबाट लेदोसहित आएको पहिरो सडकमा थुप्रिँदा यातायात अवरुद्ध भएको थियो । त्यस्तै मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भिरमा माथिबाट ढुङ्गामाटो र लेदोसहितको पहिरो सडकमा थुप्रिँदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अवरुद्ध दुवै राजमार्ग पुनः सञ्चालन गर्न स्थानीय तहसँग समन्वय गरी जेसिबीद्वारा पहिरो पन्छाउने काम गरेको प्रहरीले जनाएको छ । त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत नै सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सोखुखोलामा बाढीका कारण यातायात अवरुद्ध भएको प्रहरीको भनाइ छ ।

वर्षाका कारण जिल्ला सदरमुकामदेखि विभिन्न ग्रामीण सडक प्रभावित भएको बताइएको छ । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा पूर्वी तराईका जिल्लासहित सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्र ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ र उदयपुर जिल्लाबाट मध्यपहाडी राजमार्ग भएर राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु अलपत्र परेका छन् ।

भोटेकोशीमा पुरिएका दुई जनाको शव फेला 

सिन्धुपाल्चोक समाचारदाताका अनुसार भोटेकोशी गाउँपालिका हिन्दीमा निर्माणाधीन इलेक्ट्रो पावर कम्पनी लिमिटेडको भोटेकोशी जलविद्युत् आयोजना–१ (४० मेगावाट) को सुरुङ निर्माण गर्ने क्रममा सुरुङमाथिको स्ल्याब भत्केर पुरिएका दुई जना मजदुर १३ घन्टापछि मृत अवस्थामा फेला परेका छन् । 

ढलानले पुरिएर बेपत्ता भई ज्यान गुमाउनेमा बर्दिया ठाकुर बाबा नगरपालिका–३ का ३० वर्षीय रामदिन थारू र सुमन थारू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ । शुव्रmबार दिउँसो १ः२५ बजेको समयमा ढलान भत्केर मजदुर पुरिएका थिए । 

सुरक्षा निकायले खोजी र उद्धारका व्रmममा शनिबार बिहान ४ बजे उनीहरूको शव फेला परेको हो । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू फसेको र निरन्तरको वर्षाका कारण उद्धारमा समस्या भएको थियो । 

घटनास्थलबाट घाइते १० मजदुरलाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार असम्भव भएपछि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । चार जनाको अवस्था गम्भीर छ । घाइते हुनेमा बर्दिया बाराबर्दिया नगरपालिकाका लहानु थारू, दुर्गा चौधरी, दोलखा कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, दीपक थामी, गोपाल थामी, आइतमान थामी, पदमबहादुर थामी, रोल्पा लिबाङ नगरपालिकाका शासन रोकामगर र दोलखा वैतेश्वर गाउँपालिकाका रामचन्द्र रिमाल छन् । 

अप्पर तामाकोशीको उत्पादन बन्द                                                                       

चरीकोट समाचारदाताका अनुसार दोलखाको उत्तरी क्षेत्रमा गए रातिदेखि अविरल वर्षापछि रोल्वालिङ खोलामा आएको बाढीले किनारमा रहेको बस्ती बगाउँदा एक महिला बेपत्ता हुनुभएको छ । 

अविरल वर्षासँगै आएको बाढीले रोल्वालिङ पदमार्गका तीन घर बगाउँदा गौरीशङ्कर गाउँपालिका–९ को डोगाङमा होटल व्यवसाय गर्दै आउनुभएका अन्दाजी ६० वर्षकी जाङ्मु शेर्पा बेपत्ता हुनुभएको गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताउनुभयो । पहिरोले सात वटा घर पूर्ण रूपमा क्षति पुगेको अध्यक्ष कार्कीले बताउनुभयो । बेपत्ता महिलाको खोजी तथा उद्धारका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय खटिएका छन् । 

यो बस्ती च्छोरोल्पा हिमताल र रोल्वालिङ उपत्यका जाने पदमार्गमा पर्छ । उत्तरी भेगमा अत्यधिक वर्षा भइरहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

यस्तै तामाकोशी नदीमा बाढी आउनुका साथै सतह पार भएका कारण शुव्रmबार रातिदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उत्पादनसहित सबै प्लान्ट बन्द गरिएको आयोजनाले जनाएको छ । गएराति १ बजेबाट प्लान्ट बन्द गरिएको आयोजनाका प्लान्ट प्रमुख प्रबन्धक पूर्णगोपाल रञ्जितले जानकारी दिनुभयो । 

नदीमा पानीको मात्रा २८५ घन मिटर प्रतिसेकेन्ड पुगेपछि जोखिम बढेर प्लान्ट बन्द गरिएको उहाँको भनाइ छ । गत वर्ष दुई सय घन मिटर प्रतिसेकेन्ड सतह पुग्दा आयोजना बन्द गरिएको थिएन । आयोजनाले बाँधका सबै ढोका खोलेको छ । आयोजनाको प्रवेश सडकका कतिपय स्थानमा ससाना पहिरो खसेका छन् । उत्तरी केन्द्र सिँगटी बजारमा अत्यधिक वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ ।