फडिन्द्र अधिकारी
लेखनाथ, असार २३ गते । नेपाली बृहत् शब्दकोशमा ‘पोखरा’ को अर्थ तलाउ वा ठुलो पोखरीसमेत छ । सानो पोखरीलाई पोखरो पनि भनिन्छ अर्थात् ‘पोखरा’ शब्द र यो उपत्यकाको उत्पत्ति नै पोखरी, नदीसँग जोडिएको छ । डुङ्गा सयर, माछापालन, सिँचाइ र बिजुली उत्पादनसमेत गरिएका यहाँका ताल भवितव्य र हेलचेक्य्राइँले यदाकदा काल पनि बन्ने गरेका छन् ।
पोखराको सबैभन्दा ठुलो फेवातालमा पछिल्ला १२ वर्षमा २८६ जनाको ज्यान गएको छ । २०६९ पुसमा बाराही घाटमा रेस्क्यु टावर बनेपछि राखिएको तथ्याङ्कले त्यसयता तालबाट एक हजार १८७ जनालाई सकुशल उद्धार गरिएको देखाउँछ । यो टावर सशस्त्र प्रहरी बल कालिका गण मातहत छ ।
कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुण शर्माका अनुसार यस वर्ष मात्र फेवाबाट १२७ जनालाई जीवितै उद्धार गरिएको छ भने २७ वटा शव निकालिएको छ । टावरमा सशस्त्रले ५० जनाको उद्धारक टोली राखेको छ । “खोँच र पहिरोमा रोप रेस्क्यु अप्रेसन र डुबेका घटनामा गोताखोर अप्रेसन गर्ने हाम्रा छुट्टाछुट्टै टोली छन्,” गणपति शर्मा भन्नुहुन्छ ।
५.७२ वर्ग किमीमा रहेको फेवाका आठ घाटमा ७६७ डुङ्गा छन् । डुङ्गा व्यवसायी समितिले विपत्का लागि मोटरबाट चल्ने रेस्क्यु बोट पनि राखेको छ । समिति अध्यक्ष बलराम गिरी भवितव्यबाहेक आजभोलि डुङ्गा दुर्घटना उल्लेख्य घटेको बताउनुहुन्छ । “डुङ्गामा यात्रुको सङ्ख्या तोकिएको छ, लाइफ ज्याकेट अनिवार्य गरिएको छ,” उहाँ भन्नुहुन्छ, “दुर्घटना निकै कम भएका छन् । जथाभाबी कायक, स्नेटबोट चलाउँदा दुर्घटना हुने गरेका छन् ।”
यात्रुको हेलचेक्य्राइँ, हावाहुरी, छाल, चट्याङ आदि कारणले तालमा दुर्घटना हुने गरेका छन् । २०१८ सालमा डुङ्गा पल्टिएर घाँसदाउरा काट्न हिँडेका १९ स्थानीयको ज्यान गएको थियो भने २०४३ मा वनभोज खाएर फर्किएका २१ जनाको टोलीमध्ये दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । २०६१ मा फेवामा डुङ्गा पल्टिँदा छ सुरक्षाकर्मीको मृत्यु भएको थियो । फेवा किनारमा नेपाली सेनामा उपकरणसहितका दुई उद्धारक समूह छन् । पश्चिम पृतनाका प्रमुख सेनानी विव्रmमदेव गिरी गोताखोर र अर्काे तालिम प्राप्त समूह बाराही घाटमा रहेको बताउनुहुन्छ । “चार गोताखोर अवश्यक उपकरणसहित त्यहाँ छन्, उद्धार तालिम लिएका १२ जनाको अर्काे समूह पनि छ ।” तालमा आएका विपत्मा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा काम गर्ने गरेका छन् ।
नेपाल प्रहरीसँग छुट्टै उद्धार समूह नभए पनि सूचना आउनेबित्तिकै परिचालित हुने गरेको कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा बताउनुहुन्छ । फेवाबाहेक पोखराको दोस्रो ठुलो ताल बेगनास र तेस्रो ताल रूपामा रेस्क्यु टावर छैनन् । नेपाल पर्यटन बोर्डले यसपालि बेगनासमा रेस्क्यु टावर बनाउन दस लाख रुपियाँ विनियोजन गरेको भए पनि जग्गा प्राप्ति नहुँदा काम भएन । पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलको तालमा दुर्घटना कम गर्न पहल भए पनि सरोकारवालाको सहयोग नपाएको गुनासो छ ।
बेगनास डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्षसमेत रहनुभएका कँडेलले भन्नुभयो, “महानगरले मोटरबोट चलाउन दिँदैन । रेस्क्यु टावर बनाउन जग्गाको व्यवस्था भएन ।” काठको डुङ्गा लिएर दुर्घटना स्थलसम्म पुग्दा मान्छेको मृत्यु भइसक्ने उहाँले औँल्याउनुभयो ।
बेगनास तालमा करिब साढे तीन सय डुङ्गा छन् । डुङ्गा व्यवसायीले उद्धारमा प्रयोगका लागि ५२ लाख खर्चेर ल्याएको मोटरबोट भने महानगरले अनुमति नदिँदा थन्किएको छ । २०७५ को तिजमा माइती गएका एकै परिवारका आठ जनाको बेगनासको डुङ्गा दुर्घटनामा मृत्यु भएको थियो । बेगनासमा विपत् आइपरे डुङ्गा चालकहरू डुङ्गा लिएर जानु र सुरक्षाकर्मीलाई खबर गर्नुको
विकल्प छैन । उद्धारमा सहज होस् भनी तालबिचमा ड्रम जोडेर बस्न मिल्ने ठाउँ बनाइएको छ ।
रूपातालमा व्यावसायिक डुङ्गा सयर सुरु भएको छैन । रूपाताल एकीकृत संरक्षण विकास परियोजनामा संरचना र तालको आकारमा वृद्धिपछि यहाँ पनि डुङ्गा सयर व्यवसाय बन्ने देखिन्छ । तालमा अहिले व्यावसायिक माछापालन गरिएको छ । रूपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारीका अध्यक्ष शिवराज अधिकारी सहकारीसँग एक मोटरबोट र १५ काठका डुङ्गा भएको बताउनुहुन्छ । मोटर बोट भैपरी आउँदा र सुरक्षाका प्रयोग गर्ने गरिएको छ भने काठका डुङ्गा माछा मार्न प्रयोग हुन्छन् ।
रूपमा विपत् आउँदा उद्धारका लागि पौडन जान्ने स्थानीय र जाल हान्नेहरू खटिने गरेका छन् । दुई महिनाअघि तालमाथि बनेको झोलुङ्गे पुलबाट एक महिलाले फाल हानी आत्महत्या गर्दा उद्धारमा मोटरबोट प्रयोग भएको थियो । रूपा किनारका बासिन्दा विष्णुप्रसाद अधिकारी पहिले गाउँ भङ्गाराबाट बेँसी सिस्टेनी घाटसम्म जानआउन, पराल, धान तार्न स्थानीयले डुङ्गा राख्ने चलन भएको सम्झनुहुन्छ । पोखरामा रहेका कमलपोखरी, दिपाङ, खास्टे, मैदी, न्युरेनी, कस्यप पोखरी, ठुलीपोखरीमा पनि यदाकदा दुर्घटना हुने गरेका छन् ।