• १९ असोज २०८१, शनिबार

अविरल वर्षाबाट मनाङको जनजीवन प्रभावित

blog

ताल गाउँमा बाढीले भरिएको मर्स्याङ्दी नदी र सदरमुकाम चामेमा रहेको पुल । तस्बिर

यदुप्रसाद भट्ट
मनाङ, असार २२ गते ।
 दुई दिनदेखिको लगातार वर्षाका कारण मनाङको जनजीवन प्रभावित बन्न पुगेको छ । मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेमा रहेको पुलको सतह छुन लागेको छ भने ताल गाउँमा पानीको सतह बढ्न गई मर्स्याङ्दी नदी वारपारसम्मै जलमग्न भएको छ ।

वर्षातका कारण बाढीपहिरोको घटना बढ्न थालेको छ । विभिन्न ठाउँमा सडक भत्किने, पहिरो जाने भएको छ । सावधानी र उच्च सतर्कता अपनाएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध छ । बाढी पहिरो, डुबानको खतरा बढेको क्षेत्र वरपर बस्तीका नागरिकहरूलाई सचेत रहन अनुरोध गरेको छ ।

कहीकतै विपतमा परी समस्या परेको छ भने नजिकको स्थानीय जनप्रतिनिधि, प्रहरी (१००), स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार मातहतका निकायमा खबर गर्न पनि कार्यालयले अनुरोध गरेको छ । यद्यपि, हालसम्म बाढीबाट मनाङमा मानवीय तथा भौतिक क्षति भएको छैन ।

निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ । सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे–बेँसीशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध छ । मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ ।

मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ । त्यसैले मनाङीलाई बाढी–पहिरोको सधैँ त्रास रहन्छ । पर्यटकीय क्षेत्र भएकाले पर्यटकको यहाँ बाह्रैमास आगमन हुने गर्छ । बाढीपहिराका कारण सडक अवरुद्ध भइरहँदा उनीहरूले सास्ती भोग्नुपर्ने अवस्था छ ।

तिमाङ खोलाले काठे पुल बगाएपछि अवरुद्ध भएको सडक खुलाउन सकस भएको छ । खोलाको बहाव नघट्दासम्म उक्त सडकमा सवारीसाधन नचलाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

बाढीपहिराका कारण सडक मात्र नभई मनाङमा विद्युत्, खानेपानी सेवा पनि ठप्प हुन्छ । सदरमुकाम चामेमा समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ ।

डक अवरुद्ध हुँदा जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तुको अभाव हुने गरेको छ । स्थलमार्ग डुम्रे–बेँसीशहर–चामे सडक सञ्चालन गर्न सकस हुँदै आएको छ । बिरामीलाई उपचारका लागि अस्पताल पुग्न निकै कठिन हुन्छ ।

‘‘वर्षामा जोखिम र सकसपूर्ण अवस्था मोल्नुपर्छ’’, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भन्नुभयो । सो अवधिमा सबैभन्दा बढी सकस खाद्यान्न ढुवानी गर्न हुने गरेको उहाँको भनाइ छ ।

लमजुङको बेँसीसहर हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था भएकाले छोटो समयमा नै खोलामा पुल निर्माण गरिसक्नुपर्छ । विसं २०७८ मा ठुलो क्षति व्यहोरेको सम्झँदै गुरुङले मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भन्ज्याङ (५४१६ मी) पार गरेर सामान ल्याएर गुजारा चलाएको सुनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङको यात्रा धेरै जोखिमपूर्ण छ । खहरे खोला, सानातिना खोला, घट्टेखोलामा आएको बाढीले यहाँको सडक सञ्जाल विच्छेद हुने गरेको उहाँले बताउनुभयो ।

बाढीको बढी जोखिमयुक्त क्षेत्र मनाङको प्रवेशद्वार तालगाउँ हो । तिमाङ खोलामा आएको बाढीले बेँसीसहर–चामे सडकमा रहेको पक्की मोटरेवल पुल बगाएको छ । निरन्तर वर्षा भइरहेकाले मर्स्याङ्दीमा पानीको सतह बढेको छ । ताल गाउँमा स्थानीय बाढीको डरले रातभरि निदाउन नसकेको बताउँछन् । पानी पर्नेबित्तिकै पाखा लाग्नुपर्ने अवस्था आएको छ ।