• २१ असार २०८१, शुक्रबार

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

blog

देइर एल–बालाह (प्यालेस्टिनी क्षेत्र), असार १९ गते । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् । सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि टेन्टमा बस्न थालेको निकै महिना भइसक्यो । उनलाई दिनमा पनि रातमा पनि सुत्नलाई समस्या भइरहेको छ तर द्वन्द्वरत गाजाको ‘टेन्ट सहर’ मा एलवान र उहाँका सात बच्चाहरू आश्रय लिइरहेका छन् र उनीहरू सुत्न नसक्नुको कारण युद्धको बन्दुक होइन ।

“मेरो छोरो रातभरि निदाउन सक्दैन किनभने उसले छालासम्बन्धी रोगका कारण आफ्नो शरीरलाई स्थिर राख्न सक्दैन,” चिन्तित आमा एलवानले भन्नुभयो ।

बालकको पैताला र खुट्टाको माथिल्लो भागमा सेतो र रातो धब्बाहरू छन् । उसको टी–सर्ट मुनि यस्ता धेरै धब्बा छन् । उनी छालाको सङ्क्रमण, ठेउला, लुतो, घमौरा, जुकालगायत अन्य दुर्बल समस्याबाट पीडित धेरै गाजावासीहरूमध्ये एक हुन् ।

“हामी भुईँमा सुत्छौँ, बालुवामा सुत्छौँ, जहाँ कीराहरू बाहिर निस्कन्छन्,” एलवानले भन्नुभयो । उहाँको परिवार मध्य गाजा सहर देइर अल–बलाहको नजिक समुद्रको नजिक बलौटे टुक्रामा बस्ने हजारौँ विस्थापितमध्ये एक हो ।

एलवानको विचारमा सङ्क्रमण अवश्यम्भावी छ । उहाँले भन्नुभयो, “हामी आफ्ना छोराछोरीलाई पहिलेजस्तो नुहाउन सक्दैनौँ । त्यहाँ हात, खुट्टा र शरीर धुन र सफा गर्नको लागि चाहिने कुनै उत्पादनहरू छैनन् । यहाँ केही पनि छैन ।”

आमाबाबुले आफ्ना छोराछोरीलाई भूमध्यसागरमा नुहाउन भन्थे । तर युद्धले आधारभूत सुविधाहरू ध्वस्त पार्दा उत्पन्न भएको प्रदूषणले रोगको जोखिम बढाएपछि समुद्रमा नुहाउने सम्भावना पनि छैन । सबै फोहोर र प्रदूषित बनेको छ ।

“समुद्र सबै ढल हो । उनीहरूले फोहोर (दिसा) र बच्चाको दिसा सफा गरेका टालाहरू पनि समुद्रमा फ्याँक्छन्,” उहाँले भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाजामा युद्ध सुरु भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका नौ हजार २७४, छालामा विविध कारण भएका घाउ र त्यसमा भएका सङ्क्रमणको भयावह अवस्थासम्बन्धी ६० हजार १३० र  ‘इम्पेटिगो’ का १० हजार ३८ घटना भेटिएका छन् ।

देइर अल–बलाह शिविरमा अस्थायी क्लिनिक सञ्चालन गर्ने फार्मासिस्ट सामी हमिदका अनुसार विशेष गरी तटीय प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको महामारी नै छ ।

क्लिनिकमा दुई जना केटाहरूले आफ्नो हात, खुट्टा, ढाड र पेटमा दर्जनौँ ठेउलाका दाग र फोकाहरू र लुतो र यसले बनाएका घाउहरू देखाए ।

औषधीको अभावमा ४३ वर्षीय हमिदले केटाहरूको छालामा ‘क्यालामाइन लोसन’ दल्दै उपचार गरिदिनुभयो । यो उक्त समस्या निको पार्नका लागि नभई शीतलताका लागि गरिएको उपचार थियो । अन्य औषधी नभएपछि खास उपचार गर्न सम्भव नभएको उहाँले बताउनुभयो ।

“तातो मौसम र सफा पानीको कमीले बालबालिकाको छालामा सङ्क्रमण फैलिने गरेको छ,” उहाँले भन्नुभयो ।

गाजाका डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का मेडिकल कोअर्डिनेटर मोहम्मद अबु मुगाइसिबले एएफपीसँग भन्नुभयो, “बालबालिका भनेका खेलप्रिय र अन्जान हुन्छन् । उनीहरू बाहिर खेल्छन्, कुनै पनि चीज छुन्छन्, कतिपय खानेकुरा नधोईकन खान्छन् ।”

अबु मुगैसीबका अनुसार तातो मौसमले पसिना र फोहोर जम्मा हुने सम्भावना बढी हुन्छ जसले लुतो, एलर्जी र छालाजन्य अन्य रोगको सङ्क्रमणको सम्भावना लाई बढाउँछ ।

उहाँले भन्नुभयो, “मानिसहरू अहिले घरमा बसिरहेका छैनन्, उनीहरू बसेका स्थानमा सरसफाइको उचित व्यवस्था छैन ।”

एमएसएफ चिकित्सकहरूले यस्तो बसाइका कारण लामखुट्टे तथा अन्य किराहरूको टोकाइबाट हुने ‘लेशमेनियासिस’ को सम्भावना बढ्छ । भद्रगोल बसाइमा यसले सबैभन्दा खतरनाक र घातक छालाजन्य समस्या ल्याउन सक्छ ।

उहाँले भन्नुभयो, “गाजाका बालबालिकाहरू पहिलेदेखि नै रोगको उच्च जोखिममा रहेका छन् । कुपोषणका कारण उनीहरूको प्रतिरक्षा प्रणालीमा सम्झौता भएको छ ।”

फार्मेसिस्ट हमिदका अनुसार उनको टोलीले हालै एउटा अस्थायी विद्यालयको भ्रमण गरेको थियो, जहाँ १५० मध्ये २४ जना विद्यार्थीमा खटिराको समस्या थियो ।

“तीमध्ये केहीलाई छालाको सङ्क्रमण भएको छ र दुर्भाग्यवश यी सङ्क्रमणहरू उनीहरूमा फैलिरहेका छन्,’’ एक अस्थायी टेन्ट विद्यालयका शिक्षक ओला अल–कुलाले एएफपीसँग बताउनुभयो । खराब स्वच्छता (प्रदूषण) को कारण अन्य रोगहरू पनि विस्थापितहरूबिच शिविरमा फैलिरहेको छ ।

हमिदले भन्नुभयो, “यहाँका शौचालयहरू आदिम छन्, टेन्टहरूको बिचमा च्यानलहरूमा बगिरहेका छन्, जसले अन्ततः महामारी फैलाउन सहयोग गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार झाडापखालाका ४ लाख ८५ हजार बिरामी भेटिएका छन् ।  संयुक्त राष्ट्रसङ्घले मंगलबार गाजामा करिब २४ लाख जनसङ्ख्यामध्ये १९ लाख मानिस विस्थापित भएको जनाएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट युद्ध सुरु भएको र यसको बदलामा इजरायलले गाजामा गरेको सैन्य कारबाहीका कारण गाजामा छालाजन्य रोगबाहेक अन्य सङ्क्रमणजन्य समस्या पनि विकराल अवस्थामा रहेको विवरणहरू सार्वजनिक भइरहेका छन् । रासस/एएफपी