• २० असार २०८१, बिहिबार

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ २० र २१ गते हुने

blog

संसदीय सुनुवाइ समितिको बैठक । फाइल तस्बिर

काठमाडौँ, असार १८ गते । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ ।

मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उहाँको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानमाथिको सुनुवाइ गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निर्वाचन आयुक्तका लागि प्रस्तावित व्यक्ति प्रधानमाथिको सुनुवाइ गर्ने सचिवालयको प्रस्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’’

गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उहाँमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो ।

निर्वाचन पर्यवेक्षकको रुपमा समेत काम गरिसक्नुभएका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।