• २० असार २०८१, बिहिबार

किसानलाई अनुदानमा कृषि उपकरण

blog

रामेछाप समाचारदाता

रामेछाप, असार १८ गते  । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ का कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ । वडा कार्यालयले किसानलाई माग अनुसारका आधुनिक उपकरणसहित प्रयोगबारे जानकारीसमेत दिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट पालिका तहमा दर्ता भएका व्यावसायिक कृषि तथा पशुपन्छी फार्मलाई ५० प्रतिशत र केही ७५ प्रतिशत अनुदानमा विभिन्न उपकरण तथा अनुदान प्रदान गरिएको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले बताउनुभयो । साबिकका खिम्ती गाउँ विकास समिति अनुसारका वडा तथा टोल अनुसार किसानसँग आवेदन माग गरी छनोट भएको व्यावसायिक कृषि तथा पशुपन्छी फार्म र व्यक्तिहरूलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको उहाँले बताउनुभयो ।

वडा कार्यालयले चालु आवमा विनियोजन गरेको चार लाख रुपियाँ बजेटबाट ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर १३ थान, पिसानी मिल चार थान र वडाका चार जना बाख्रापालक कृषकलाई ७५ प्रतिशत अनुदानमा उन्नत जातका बोका र खोर निर्माणमा अनुदान दिइएको उहाँले बताउनुभयो । 

वडाध्यक्ष न्यौपानेले भन्नुभयो “किसानले गोरु पाल्न छाडे । परम्परागत रूपमा खेती लगाउँदा समय धेरै लाग्छ । खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौँ । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।” 

कृषिमा यान्त्रिकीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यसहित किसानलाई खेती गर्न सहज होस् भनेर ती उपकरण अनुदानमा वितरण गरिएको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले बताउनुभयो । कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्नेमा उहाँको जोड छ ।

५० प्रतिशत अनुदानमा हाते ट्याक्टर पाउनुभएका कृषक प्रेमबहादुर खड्काले अब किसानको समय र पैसा बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो “जोत्ने मान्छे नहुँदा र रोगका कारणले गाउँमा गोरु पाल्न सकिएन । गोरु नहुँदा गाउँमा हाते ट्याक्टर आवश्यक थियो । पालो कुरेर अरूलाई बोलाउनुपर्ने अवस्था थियो । अनि महँगो पैसा पनि तिर्नुपर्ने बाध्यता थियो । अब पैसा र समय बचत हुने विश्वास छ ।”