• २० असार २०८१, बिहिबार

चितुवा देखिनासाथ एसएमएस आउने प्रणाली जडान

blog

चितुवा देखिनासाथ एसएमएस आउने क्यामरा र प्राविधिक ।

रमेश पौडेल 

पोखरा, असार १८ गते । पोखरामा चितुवाको आतङ्कबाट स्थानीयलाई जोगाउन मोबाइल एसएमएस प्रणाली जडान सुरु गरिएको छ । जनावर र वन्यजन्तुको द्वन्द्वको क्षेत्रमा काम गर्दै आइरहेको ग्रिन गर्भनेन्स नेपालको पहलमा पोखरा महानगरपालिका वडा नम्बर ३१ र ३२ को ग्रामीण क्षेत्रमा यस्तो प्रणाली जडान गरिएको हो । 

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नवप्रवर्तन कार्यक्रम अन्र्तगत पोखरा महानगरको बेगनास र रूपाताल क्षेत्रमा पर्ने दुई वडाका विभिन्न गाउँमा यो प्रणाली जडान कार्य आरम्भ गरिएको संस्थाका कार्यक्रम अधिकृत अर्जुन भुसालले जानकारी दिनुभयो ।

युएसएआइडी बायोडाइर्भसिटीको सहयोगमा सञ्चालित यस कार्यक्रमले बस्तीमा चितुवा प्रवेश गरेको जानकारी एसएमएसको माध्यमबाट स्थानीयको मोबाइलमा आउने कार्यक्रम अधिकृत भुसालले जानकारी दिनुभयो । नेपाल टेलिकमसँगको सहकार्यमा ‘यस्तो ठाउँमा चितुवा देखियो, सतर्क रहनु होला’ भन्ने प्रकारको सूचना मोबाइलमा आउने गरी प्रणाली जडान गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार सो क्षेत्रमा जडान गरिएका सेन्सरयुक्त क्यामराले चितुवाको स्क्यानिङ गर्ने र त्यसको जानकारी जडान गरिएको माइक्रो कम्प्युटरको माध्यमबाट स्थानीयको मोबाइलमा म्यासेज जाने प्रणालीको विकास गरिएको हो । उहाँले भन्नुभयो, “यो प्रणाली पाइलट प्रोजेक्टका रूपमा कास्कीको रूपा र बेगनास तालको क्षेत्रलाई लक्षित गर्दै सञ्चालन गरेका छौँ । वन्यजन्तुका कारण समुदायमा क्षति कम गर्नका लागि यो प्रणालीको सुरुवात नेपाल टेलिकमसँगको सहकार्यमा सुरु गरेका हौँ ।”

यस्तो ‘अलर्ट’ प्रणालीले चितुवासहितका हिंस्रक जनावरको क्षतिबाट समुदायलाई फाइदा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । हालै पोखरा–३२ स्थित डाँडागाउँमा एउटा क्यामरा जडान गरी सुरु गरिएको यो कार्यक्रम रूपा र बेगनास वरपरका थप १० स्थानमा जडान गरिने अधिकृत भुसालले बताउनुभयो । 

उहाँका अनुसार उच्च प्रविधियुक्त नाइटभिजनसहितका क्यामराले २० मिटर आसपाससम्म स्क्यानिङ क्षमता राख्ने गर्दछ । उक्त प्रविधियुक्त क्यामरा तथा प्रविधिको निर्माण र डिजाइन नेपाली इन्जिनियरद्वय भाष्कर रसाइली र सरोज बेल्बासेले गर्नुभएको हो । सो क्यामराको मूल्य ६० देखि ७० हजार रुपियाँसम्म पर्ने अनुमान गरिएको छ । 

यो कार्यक्रमले आफूहरू ढुक्क हुने वातावरण बनेको पोखरा–३२, डाँडागाउँका स्थानीय घनश्याम कुँवरले बताउनुभयो । उहाँले साँझ बिहान मेलापात आउँदा जाँदा ढिलो हुने भएकाले वन्यजन्तुबाट घरमा पालेका बाख्रा, कुखुरा, कुकुरलगायतमा अकस्मात् आक्रमण भई क्षति हुने गरेकोमा अब यो प्रणालीले क्षतिमा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “केही वर्षपहिले यहीँमाथि एक जना बालकलाई चितुवाले आक्रमण गरेको थियो । अब यस्ता घटनाबारे समयमै थाहा पाइयो भने सतर्कता अपनाउन सकिन्छ ।” 

संस्थाले यसका अलवा समुदायमा १५० घरधुरीमा बाख्राको खोर सुधारका साथै बाँदर धपाउन ‘एक्योस्टिक सेन्टर’ को अवधारणालाई पनि लागु गर्ने तयारी गरिरहेको कार्यक्रम अधिकृत भुसालले बताउनुभयो ।