• १८ असार २०८१, मङ्गलबार

बजेट पुनर्लेखनको माग गर्दै ज्ञापनपत्र

blog

मधेशका सत्तारुढ दलले मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाउँदै । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, असार १६ गते । मधेश प्रदेश सरकारका चार दलहरुले बजेट पुनर्लेखनको तथा संसदीय छानवीन समिति गठनका लागि मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।  

आइतबार प्रदेशका मुख्यमन्त्री सिंहसमक्ष नेपाली कांग्रेस, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा बजेट रकममा भारी त्रुटी भएको भन्दै पुनर्लेखन गरी सन्तुलित बजेट कायम गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।  

सन्तुलित बजेट कायम गर्नुपर्ने मागसहित बजेटमा देखिएको त्रुटी सच्याइ पुनर्लेखन गर्न भन्दै कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोसपा नेपाल मधेशका प्रमुख सचेतक तथा राप्रपा मधेशका संसदीय दलका नेता कञ्चन बिच्छाले सामुहिक रुपमा ज्ञापनपत्र बुझाएका हुन् । 

असार १३ गते मुख्यमन्त्री सिंहको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्रीले मधेशको बजेटमा त्रुटी भएकाले त्यसलाई स्वीकारेपछि मात्र अघि बढ्ने बताएका छन् । 

ज्ञापनपत्रमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानवीन समिति गठन हुनुपर्ने, बजेट पुनःलेखन गरी प्रदेश सभामा छलफल हुनुपर्ने र बजेट पुनर्लेखन गर्दा सबै संसदीय क्षेत्रमा सन्तुलित बजेट कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।