• १७ असार २०८१, सोमबार

सुदूरपश्चिममा डेङ्गु, स्क्रबटाइफसविरुद्ध अभियान जारी

blog

बैतडी, असार १५ गते । सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता यहाँ एक सय १६ जनामा डेङ्गु तथा चार सय नौ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि  प्रदेश सरकारले अभियान थालेको हो । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सबैभन्दा बढी स्क्रबटाइफसका बिरामी डडेलधुरामा एक सय ९१ जना छन् । कैलालीमा ८२, अछाममा ४७, दार्चुलामा ३२, डोटीमा २५, कञ्चनपुरमा १७, बैतडीमा सात, बझाङमा सात र बाजुरामा एकजना सङ्क्रमितको अभिलेखीकरण भएको छ । यसैगरी, डोटीमा २७, कञ्चनपुरमा २६, अछाममा २३, कैलालीमा १९, बाजुरामा १२, बझाङमा पाँच, दार्चुला तीन, डडेलधुरा एकजनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । 

वर्षात सुरु भएसँगै  डेङ्गु र स्क्रबटाइफसका बिरामी बढ्दै जान थालेका निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताउनुभयो । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । उहाँले भन्नुभयो, “वर्षा सुरु भएसँगै पहाडका साथै तराईमा पनि सङ्क्रमणको जोखिम बढेको छ । तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे कम देखिएका थिए अब पानी परेर लामखुट्टे बढ्ने र सङ्क्रमणको जोखिम उच्च हुनेछ ।” पछिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताउनुभयो । 

बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरूको परीक्षण गर्दा डेङ्गु र स्क्रबटाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिहरूमा समेत डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको  जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो । 

वर्षा सुरु भएसँगै पछिल्लो समय डेङ्गु र स्क्रबटाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ । उहाँले भन्नुभयो, “तराईका साथै पहाडमा पनि डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ, बर्सातको समयमा विशेष ख्याल गर्नुपर्छ ।” वर्षातको समयमा किर्नालगायत किराहरूले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामीहरू बढ्ने गरेका हुन् । चौपाया नजिक गइरहनेलाई किर्नाले टोक्ने जोखिम बढी हुने बताउँदै उहाँले माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रबटाइफस हुने जानकारी दिनुभयो । 

विशेष गरी पशुपालक किसानलाई सावधानी अपनाउन उहाँले आग्रह पनि गर्नुभयो । चिकित्सकहरूका अनुसार एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु लाग्ने गरेको छ । यो रोग लागेकालाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता आउने, पेट दुख्ने र पखाला लाग्ने, सास फेर्न समस्या हुने, लामो समयसम्म टाउको, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, टोकेको ठाउँमा कालो दाग बस्ने लक्षण देखिन्छ । 

डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवम् प्रशिक्षणका साथै यहाँका अस्पतालहरूमा सङ्क्रमित बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिनुभयो । यसैबिच, डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि चेतनामूलक र  सरसफाइ अभियान पनि सञ्चालन गरिएको छ । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका निर्देशनालयले जनाएको छ । रासस