• १७ असार २०८१, सोमबार

कैलालीमा पन्ध्र विद्यालयको नतिजा शुन्य

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, असार १४ गते । माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कैलालीका पन्ध्र वटा विद्यालयको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ । 

भजनीका राष्ट्रिय मावि पल्टुपुरबाट ३२ जना, महेन्द्र मावि पगियापसारबाट ३१ जना, सरस्वती मावि नवलपुरबाट २४ जना, राष्ट्रिय मावि महादेउलीबाट २४ जना, र राष्ट्रिय मावि ढुसीबाट २० जनाले एसइई परीक्षा दिएकोमा कुनै विद्यार्थी उत्तीर्ण नभएको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले जानकारी दिनुभयो ।

टीकापुर नगरपालिकाको राष्ट्रिय मावि सोनाफाँटा र त्रिभुवन मावि मौरनियाको नतिजा शुन्य आएको छ । त्रिभुवन माविबाट २६ जना र राष्ट्रिय माविबाट २३ जनाले परीक्षा दिएका थिए । यस्तै, यहाँको निजी विद्यालय सगुन एकेडेमीबाट आठ जनाले परीक्षा दिएकोमा नतिजा शुन्य आएको छ । 

चुरे गाउँपालिकाका तीनवटा विद्यालयको नतिजा शुन्य आएको छ । यहाँको जनता मावि बैसेनीबाट ३६ जना, जनता मावि शान्तिनगरबाट २१ जना, भगवती मावि कोतढुङ्गेनीबाट १६ जनाले परीक्षा दिएका थिए । यस्तै, ३५ जनाले परीक्षा दिएको कैलारी गाउँपालिकाको राष्ट्रिय मावि घुँइयाघाट, ४९ जनाले परीक्षा दिएको गोदावरी नगरपालिकाको दुर्गा मावि कोल्मुडाको नतिजा पनि शुन्य आएको छ ।

यस्तै मोहन्याल गाउँपालिकाको भैरवमाला मावि सुगरखाल र मोहन्याल मावि बडीकाफाइको नतिजा पनि शुन्य आएको छ । भैरवमालाबाट २२ र मोहन्यालबाट २६ जनाले एसइई दिएका थिए ।

पाँच विद्यालयको नतिजा शुन्य आएको भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीले पढ्ने, पढाउने, पढन पठाउने र अनुगमन गर्ने सबै पक्षको कमजोरीका कारण यस्तो नतिजा व्यहोर्नु परेको बताउनुभयो । प्रमुख चौधरीका अनुसार बुढा शिक्षक र मोवाइलमा व्यस्त विद्यार्थी पनि नतिजा खस्किनुको कारण हो ।