• १७ असार २०८१, सोमबार

बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री प्रचण्डद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण

blog

भरतपुर अस्पतालमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

भरतपुर, असार १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) बाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिनुभएको छ। 

अस्पतालमा पुगेर प्रधानमन्त्रीले मेडिकल कलेजमा उपचाररत पूर्वमन्त्री घनश्याम दाहाल एवं सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। 

उहाँले अस्पतालमा कार्यरत स्वास्थकर्मीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँबाट प्रवाह हुँदै आएको सेवाबारे जानकारी लिनुभयो।

सामान्य र विशेषमा गरी यस अस्पतालबाट दैनिक एक हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार चितवन आउनुभएको हो।


अस्पतालको निरीक्षणअघि भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यो वर्ष पनि किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताउनुभएको छ। 

 प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पोहोर साल मलको खासै अभाव भएको सुनिएन। यस वर्ष पनि हामी रासायनिक मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइँदैन।” 

चितवनका केरा किसानलाई बीमा वापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्न लागिपरेको स्पष्ट पार्नुभयो। उहाँले जनताले अनुभूत गर्नेगरी परिणाम दिन सरकार क्रियाशील रहेको बताउनुभयो।


एक अर्को प्रसंगमा हतारमा पार्टी एकताभन्दा लोकतन्त्रको सुदृढीकरणलाई जोड दिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ। पार्टी एकीकरणका विषयमा प्रधानन्त्री प्रचण्डले भन्नुभयो, “हामी तत्काल र हतारमा पार्टी एकता वा वामपन्थी एकता गर्ने पक्षमा छैनौँ। धेरै राम्रो उत्साह आएर पनि विगतमा दुर्घटना भयो, त्यसकारण वाम एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छ।”

राम्रो सहकार्य गरेर जाँदा जनताले देख्नेगरी काम गर्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रचण्डले सतर्कताका साथ आफूहरू अघि बढेको स्पष्ट पार्नुभयो।