• ११ मंसिर २०८१, मङ्गलबार

जनचेतना बढाउन सके रक्तदाताको सङ्ख्या बढाउन सकिन्छ : मन्त्री यादव

blog

कार्यक्रममा उपस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव।

काठमाडौँ, असार १४ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नागरिकलाई रक्तदानको महत्त्वबारे जानकारी गराउन सके रक्तदाताको सङ्ख्या बढाउन सकिने बताउनुभएको छ। 

स्टार अस्पतालको रक्तसञ्चार सेवा केन्द्रको  उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो।नेपालमा रक्तदानको अवस्था सुधार्न जनचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको मन्त्री यादवले जोड दिनुभएको छ।

नेपालमा रक्तदानको स्थिति अहिले पनि चुनौतीपूर्ण रहेको उहाँले जिकिर गर्नुभयो। मन्त्री यादवले भन्नुभयो, “रक्तदान जीवनदान हो।एक युनिट रगतले तीन जनासम्मको जीवन बचाउन सकिन्छ ।” 

मन्त्री यादवले निजी अस्पतालमा रक्त सञ्चार केन्द्रको स्थापना गरेर स्टार अस्पतालले एउटा नमुना काम गरेको बताउनुभयो।  

उहाँले भन्नुभयो, “रक्तसञ्चार केन्द्रको स्थापनाले अस्पतालमा उपचाररत बिरामीलाई मात्र नभई, टाढाबाट आउने अन्य बिरामीलाई पनि सहज हुनुका साथै उपचार प्रक्रिया सरल र छिटो बनाउन मद्दत पुर्‍याउनेछ ।”

केन्द्रले अस्पतालको गुणस्तरमा उल्लेखनीय वृद्धि गर्नुका साथै बिरामीले रगत प्राप्त गर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो।