• १६ असार २०८१, आइतबार

आँखा ओभानो छैन क्व्होलासोथारवासीको

blog

अमरराज नहर्की

तनहुँ, असार १४ गते । लमजुङमा मङ्गलबार राति परेको अविरल वर्षाका कारण आएको पहिरोले बुधबार बिहान तीन घर बगाउँदा क्व्होलासोथार गाउँपालिका–३, बगुमा एकै घरका चार जनाको मृत्यु भएपछि सो गाउँपालिकावासी शोकमा डुबेका छन् ।  

विभिन्न सञ्चार माध्यममा घटनाको खबर आएपछि मृतकका आफन्तजनमा रुवाबासी चलेको थियो नै गाउँले पनि शोकमा डुबेका छन् । अहिले मृतकका परिवारलाई सान्त्वना दिने स्थानीयको घुइँचो लागेको छ । यस घटनाले सिङ्गो गाउँपालिका शोकमा डुबेको क्व्होलासोथार गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले बताउनुभयो । 

उद्धार तथा राहतका लागि घटनास्थल पुगेकी उपाध्यक्ष गुरुङले भन्नुभयो, “यस्तो दुःखद घटनाले कसैको आँखा ओभानो छैन ।” गाउँपालिकाका तर्फबाट किरिया खर्च दिने र घर बनाउनुपर्ने आफन्त तथा स्थानीयको भनाइ रहेकाले त्यसका लागि कार्यपालिकामा छलफल चलाइने उपाध्यक्ष गुरुङले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मीन घलेका अनुसार पहिरोले तीन घर बगाउँदा एकै घरका चार जनाको मृत्यु भएको हो । पहिरोमा परी ६९ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उहाँका दुई छोरीहरू सात वर्षीय इच्छा गुरुङ र पाँच वर्षीय नम्रता गुरुङको मृत्यु भएको छ । 

प्रहरी र स्थानीयले भग्नावशेषबाट शव निकालेका छन् । सो ठाउँका रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाउँदा उहाँहरूको मृत्यु भएको हो  । 

पहिरोमा परी चित्रका भाइ भीमबहादुर घले घाइते हुनुभएको छ । प्रनाउ घलेका अनुसार दोर्दी–९, धैरेनी चितीमा रामकाजी सुनारको घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ भने १८ वर्षीय मिलन सुनार घाइते हुनुभएको छ । विकल र मिलन दाजुभाइ हुन् । घाइते भएपछि बेँसीसहरस्थित लमजुङ जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा विकलको बुधबार मृत्यु भएको थियो  ।