• १७ असार २०८१, सोमबार

गुणस्तरहीन मल आयात

blog

बुटवल समाचारदाता

बुटवल, असार १४ गते । रुपन्देही जिल्लामा यो वर्षको रोपाइँ सुरु भएसँगै भारतबाट नक्कली रासायनिक मलको तस्करी बढेको छ । 

अहिले नेपाली किसानका खेत खेतमा भारतमा सस्तोमा पाइने रासायनिक मल युरिया र डिएपीको प्रयोग बढेको छ । नेपालमा रासायनिक मल पाउन किसानले सास्ती पाइरहेका बेला भारतबाट खुला सीमाको प्रयोग गरी तस्करले नेपाली किसानका खेतसम्मै नक्कली रासायनिक मल बिक्री गर्ने गरेको पाइएको छ । 

नेपालमा साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्रले वितरण गर्ने युरिया मल प्रतिबोरा ८५० मा उपलब्ध हुन्छ भने डिएपीलाई दुई हजार ३५० तिर्नु पर्छ । उता भारतबाट आउने नक्कली मल युरिया सात सय र डिएपी दुई हजारमा बिक्री भइरहेको छ । 

किसानले भने नेपालमा मल किन्न लाममा बस्दा पनि पाउन मुस्किल परेपछि भारतबाटै आउने रासायनिक मल प्रयोग गर्न बाध्य छन् ।   

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले भारतबाट खुला सीमाको प्रयोग गर्दै कम गुणस्तरको युरिया र डिएपी मल आयात भइरहेको बताउनुभयो । 

उहाँका अनुसार एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलेर ल्याएको करिब दुई सय बोरा युरिया र डिएपी मल बरामद भएको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले खुला सीमाको प्रयोग गरी भारतबाट अवैध रूपमा रासायनिक मलसहित अन्य उपभोग्य सामग्री बिनाभन्सार भित्र्याउने क्रम बढेको भन्दै चेकजाँचलाई समेत तीव्रता दिएको जनाएको छ ।  

असार ८ गते ६७ बोरा युरिया मल, चिनी १२ बोरा, बैखी माछा ५० केजी र ३१ वटा बोइलर कुखुरा बरामद गरेको जनाएको छ । नेपाली किसानले समेत नेपालमा पाइने युरिया र डिएपी मल पाउनै समस्या रहेको बताएका छन् । गैडहवाका किसान रामप्रित लोधले मल पाउनै समस्या भएकोले भारतबाट आउने रासायनिक मल किन्न बाध्य हुने गरेको बताउनुभयो ।

लोधका अनुसार नेपालमा पाइनेभन्दा भारतबाट आउने रासायनिक मल कम गुणस्तरको छ तर पनि राम्रो मल नपाउँदा किसानले भारतीय मल प्रयोग गर्न बाध्य भएका हुन् । जिप्रका रुपन्देहीका प्रनाउ भट्टका अनुसार भारतबाट बिनाराजस्व खुला सीमाको प्रयोग गरी अवैध रूपमा सामान भित्र्याउने क्रम बढेपछि प्रहरीले अहिले सीमा क्षेत्रमा जाँच बढाएको छ ।