• १६ असार २०८१, आइतबार

बाँझो जमिन उपयोग गराउन किसानलाई सेवा सुविधा

blog

दोलखा समाचारदाता

दोलखा, असार १४ गते । कालिञ्चोक गाउँपालिका–८ स्थित हाम्रो साना किसान कृषि सहकारी संस्थाले बाँझो जमिनलाई उपयोगमा ल्याउन ७२ जना किसानलाई सुविधा उपलब्ध गराउने भएको छ । किसानलाई संस्थाको समन्वयमा ग्रिन इन्टेलिजेन्स कम्पनीले १२ हजार विभिन्न जातका बिरुवा निःशुल्क उपलब्ध गराएको संस्थाका अध्यक्ष होम पाठकले जानकारी दिनुभयो । 

उहाँका अनुसार रोपे तथा संरक्षण गरेबापत प्रतिबिरुवा ५० रुपियाँ दिएर बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने वातावरण बनाउन लागिएको हो । किसानले बिरुवा रोपेपछि आफ्नो मोबाइलबाट जिआइ एप्लिकेसनमा रोपेको बिरुवाको फोटो खिची पठाएपछि सुरुमा प्रतिबिरुवा १० रुपियाँ पाउने छन् । बिरुवालाई मलजल गर्दै उत्पादन दिने समयसम्म व्रmमशः चार पटक फोटो खिचेर पठाएपछि थप प्रतिबिरुवा ४० रुपियाँ पाउने छन् । किसानले बिरुवा रोपेबापतको अनुगमनसमेतका आधारमा जम्मा अवधिमा प्रतिबिरुवा ५० रुपियाँ पाउने छन् । 

किसानले खाल्टो खन्ने, माटो तयार पार्नेलगायतका काम आफैँले गर्नुपर्ने छ । कम्पनीले ज्ञान, सिप र प्रविधिबारे तालिमसमेत प्रदान गर्ने छ । वडा नम्बर ७, ८ र ९ का यी किसानलाई करिब ४० लाख बिरुवा वितरण गरिएको छ । साढे दुई सय रोपनीमा बिरुवा रोपिने छ । यसरी सानै भए पनि सुविधा पाउन थालेपछि किसानले बाँझो जमिन जोतखनमा लागिसकेका पनि छन् । बाँझो रहेको जग्गामा किसानहरूले कागती, मेकाडेमिया नट, एभोकाडो, टिमुर, तेजपत्ता र कफी लगाउने छन् । एक जनाले एक वा दुई जातका बिरुवा लगाउने गरी संस्थासँग सम्झौतासमेत गरेका छन् ।