• १६ असार २०८१, आइतबार

सार्वजनिक सेवाका कार्यालय निमित्तको भरमा

blog

पुष्कर भण्डारी 

डडेलधुरा, असार १४ गते । डडेलधुराका अधिकांश सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । कर्मचारीको अभाव खेपिरहेका सरकारी कार्यालयमा दरबन्दी अनुसारका कार्यालय प्रमुखको अभाव देखिएको छ । 

चार दर्जन सरकारी कार्यालय रहेको डडेलधुरामा केही कार्यालयबाहेक अधिकांश कार्यालय निमित्तको भरमा चलिरहेका छन् । निमित्तभई कामकाज गर्दा कतिबेला कार्यालय प्रमुख आउने नआउने ठेगान नै हुँदैन । 

घरेलु तथा साना उद्योग कार्यालय, नेपाल विद्युत् प्राधिकरण, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालय, यातायात व्यवस्था कार्यालय, कारागार कार्यालय, जिल्ला हुलाक कार्यालय, तरकारी बिउ उत्पादन कार्यालय, डडेलधुरा अस्पताल, कृषि ज्ञान केन्द्र, मालपोत कार्यालय, नापी कार्यालय, पूर्वाधार विकास कार्यालय, उच्चशिक्षा परिषद्लगायतका कार्यालय लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएका छन् । 

सङ्घीय सरकार मातहतका कार्यालयभन्दा प्रदेश सरकार मातहतमा रहेका कार्यालयमा कर्मचारी अभाव बढी रहेको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जानकारी दिनुभयो । प्रदेशले मनोमानी ढङ्गले कर्मचारी चलाउँदा प्रदेश सरकारसँग सरोकार राख्ने कार्यालयमा बढी जसो निमित्त हाकिम रहेका छन् भने कर्मचारी अभाव पनि तिनै कार्यालयमा बढी देखिन्छ ।

दरबन्दी अनुसारका कर्मचारी अभाव खेपिरहेका सार्वजनिक सरोकार तथा सेवाका कार्यालयहरू पनि निमित्तका भरमा सञ्चालन हुँदा विभिन्न समस्या झेल्नु परिरहेको गुनासो नागरिकको छ । एक जना लेखापालले दुईभन्दा बढी कार्यालय हेर्ने गरेका छन् । असार मसान्तको बेला योजना फरफारक तथा बिल भुक्तानीका लागि लेखापाललाई भ्याइनभ्याइ छ । सरकारी कार्यालय र स्थानीय तहसमेत हेर्नुपर्दा कतिपयको भुक्तानी समयमा हुन नसकेको जनगुनासो छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय, नगरपालिका र गाउँपालिकासमेत निमित्त कार्यालय प्रमुखको भरमा धानिएका छन् । लामो समयदेखि दरबन्दी अनुसारका कार्यालय प्रमुख नआउँदा विकास निर्माणको योजना बनाउन र निर्णय लिन समस्या हुने गरेको कर्मचारी बताउँछन् । जिल्ला प्रशासन कार्यालयमा राप प्रथम क्षेणीका प्रमुख जिल्ला अधिकारी हुनुपर्ने हो तर विगतदेखि द्वितीय श्रेणीकाले नै काम गर्दै आइरहनुभएको छ । कर्मचारी सरुवा गर्दा पनि दरबन्दी अनुसारका कर्मचारी दुर्गममा जान नमान्ने र भनसुनका आधारमा दरबन्दी सुगम क्षेत्रमा नै मिलाउने चलन बढेको छ । 

विषय विशेषज्ञ रहनुपर्ने कार्यालय पनि निमित्तको भरमा छन् । यसले जिल्लाको समग्र विकास निर्माण र सेवा प्रवाहमा असर परिरहेको राजनीतिज्ञ तथा समाजसेवी गुणाकर चटौतले बताउनुभयो । दक्ष जनशक्ति नहँुदा कार्ययोजनाका साथै जिल्लाको ठोस विकासमा असर परिरहेको उहाँको भनाइ छ ।  

डडेलधुरा अस्पताल स्थापना कालदेखि नै निमित्तको भरमा चलिरहेको छ । २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरेको थियो । अस्पतालमा अन्य दरबन्दीसमेत पदपूर्ति हुन नसक्दा सेवाग्राही मर्कामा परिरहेको डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमा नवौँ तहको कर्मचारी हाकिम हुनुपर्ने ठाउँमा छैटौँ तहकाले काम चलाउँदै आएका छन् । जिल्ला समन्वय समितिका समन्वय अधिकारी पनि निमित्त नै छन् । अमरगढी नगरपालिका र परशुराम नगरपालिका पनि निमित्त हाकिमकै भरमा चलिरहेका छन् । राजनीतिक खिचातानीका कारण कर्मचारी तथा कार्यालय प्रमुखको सरुवा भइरहने गर्छ ।