• १६ असार २०८१, आइतबार

मनसुन सक्रिय आइतबारसम्म देशभर पानी पर्ने, सतर्कता अपनाउन आग्रह

blog

काठमाडौँ, असार १३ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रवार)देखि मनसुन थप सक्रिय हुने जनाएको छ । 

आज साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ । केही दिन मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो । 

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आजदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी वायुको प्रभावले आजदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी प्रदेशका केही स्थानमा, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले शुक्रवारदेखि आइतबारसम्म मेघ गर्जन चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । महाशाखाले दैनिक रुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिन नियमित हेर्न अनुरोध गरेको छ ।