• १६ असार २०८१, आइतबार

विषादी छर्केर जुनार जोगाउँदै किसान

blog

सिन्धुली समाचारदाता

सिन्धुली, असार १४ गते । सिन्धुलीका जु्नार किसान ‘प्रोटिन बेट’ नामक विषादी छिटेर औँसा किरा नियन्त्रण गरी जुनारलाई सुरक्षित गर्ने अभियानमा जुटेका छन् ।

पालिका, प्रधानमन्त्री जुनार सुपरजोन परियोजना र किसानको सहभागितामा ‘प्रोटिन बेट’ नामक विषादी छिटेर जुनारलाई सुरक्षित गर्ने अभियान सुरु गरिएको हो । 

गत वैशाख महिनाको अन्तिम हप्तादेखि जुनार बगैँचामा उक्त विषादी छिट्न सुरु गरिएको र १० देखि १२ हप्तासम्म छिट्नुपर्ने परियोजनाले जनाएको छ । परियोजनाका अनुसार जुनारको फल जोगाउन उक्त विषादी प्रभावकारी देखिएपछि विगत पाँच वर्षदेखि प्रत्येक वर्ष जुनारको चिचिला लाग्ने सिजनमा किसानको समेत लगानीमा उक्त विषादी छिट्ने कार्य हुँदै आएको छ । 

उक्त विषादीबाट औँसा किरा नियन्त्रण सफल भएपछि उत्साहित भएर किसानले नै ५० प्रतिशत लगानी गरी किरा नियन्त्रण अभियानमा थालेका हुन् ।

उक्त विषादीमा दुई भाग पानी मिसाएर १० देखि १२ हप्तासम्म जुनारको बोटमा छिट्नुपर्ने परियोजनाका प्राविधिक जहानबहादुर कार्कीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष प्रत्येक हप्ताको शनिबार सबै ठाउँमा एक पटक विषादी छिट्ने कार्य हुँदै आएको छ ।” प्राविधिक कार्कीका अनुसार ब्याक्टेसेरा मिनाक्स नामक ढाडे झिँगाले जुनारको फलभित्र फूल पार्ने र गुलियोपन बढ्दै गएपछि औँसा भएर लार्भा बनी जुनारलाई खोक्रो बनाउने गरेको पाइएको छ ।

जुनारको फल कुहाउने औँसा पार्ने किराको पोथी झिँगालाई फूल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजी गर्ने भएकाले प्रोटिन बेट जुनारमा स्प्रे गर्दा बोटमै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको उहाँको भनाइ छ ।

“यो सस्तो र भरपर्दा विषादी हो,” प्राविधिक कार्कीले थप्नुभयो, “स्प्रेकर्ताले औषधी स्प्रे गरेको ठाउँमा किराहरू झुम्मिएर आउँछन् र मर्छन् ।” विषादी स्प्रे गर्न तालिम दिएर ४२ जना परिचालन गरिएको परियोजनाले जनाएको छ । उहाँका अनुसार प्रत्येक तीन बोट बराबर एक बोटको केही भागमा औषधी स्प्रे गरिन्छ । 

त्यसो त गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान केदार राक्से ठकुरीको साढे नौ रापनी जमिन यतिखेर जुनार खेतीले ढाकेको छ । जुनारको फल जोगाउन प्रत्येक वर्ष ‘प्रोटिन बेट’ विषादी छर्कने गरेको उहाँले बताउनुभयो । गाउँपालिका, परियोजना र आफ्नो लगानीमा विषादी छर्कंदै आएको उहाँको भनाइ छ । उहाँले जुनार बिक्री गरी प्रत्येक वर्ष कम्तीमा पनि १५ लाख रुपियाँ आम्दानी लिँदै आउनुभएको छ ।  उहाँ जुनार सखाप पार्ने किरा मार्नका लागि उक्त औषधी प्रभावकारी देखिएपछि विषादी छर्न किसान हौसिएको बताउनुहुन्छ । उहाँका अनुसार जुनारको फल दिन सुरु गरेका प्रत्येक किसानले बगैँचामा विषादी स्प्रे गरेका छन् ।

परियोजनाका अनुसार नेपालमै सबैभन्दा बढी जुनार उत्पादन हुने सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३, गोलन्जोर गाउँपालिका–१, २, ३, ४, ५, ६, तीनपाटन गाउँपालिका–७ र सुनकोशी गाउँपालिका–७ परियोजनाको कार्य क्षेत्र हो । परियोजनाको कार्य क्षेत्रमा जुनार खेतीले १० हजार पाँच सय हेक्टर ढाकेको छ । जिल्लामा जुनार खेती हुँदै आएको कुल क्षेत्रफल करिब १३ हजार हेक्टर रहेको छ । 

गएको सिजनमा जिल्लामा नौ हजार पाँच सय मेट्रिक टन जुनार उत्पादन भएको प्राविधिक कार्कीले जानकारी दिनुभयो ।