• १६ असार २०८१, आइतबार

कारोबार करोडमा तर बैङ्कमा पैसै पुग्दैन

blog

केदार तिमल्सिना

बनेपा, असार १४ गते । काभ्रेपलाञ्चोक जिल्लामा बोधिचित्तको खेती र अन्तर्राष्ट्रिय कारोबार बढ्दो छ । त्यस्तो कारोबार करोडको हुँदा पनि बैङ्किङ च्यानल नभई हुन्डीमा हुने गरेको छ । चिनियाँ व्यापारीले हुन्डीमार्फत कारोबार गर्ने बताइन्छ । 

रोसी गाउँपालिका–५, सिसाखानीका शेरबहादुर तामाङ परिवारको बोधिचित्तको एउटा बोटको दाना यस वर्षका लागि ९० लाख रुपियाँमा खरिद गर्ने सहमति भएको छ । दाना खरिद गर्ने व्यापारी समिप त्रिपाठीले नगद ५० लाख रुपियाँ पेस्कीबापत भुक्तानी पनि गर्नुभएको छ । यस्तो खेती र कारोबार तामाङको मात्र होइन । काभ्रेपलाञ्चोकका रोसी गाउँपालिका र तेमाल गाउँपालिकामा व्यावसायिक खेती नै हुने गरेको छ । एउटै बोटको करोडौँ रुपियाँसम्म लिने बोधिचित्तको दानाको मोल नगदै पनि लिन्छन् तर त्यसका ग्राहक भने डलरमा कारोबार गर्ने चिनियाँ व्यापारी हुन् । 

खरिद, बिक्रीको कामलाई बैङ्किङ प्रणालीमा नल्याउँदा बोधिचित्त दानाको मूल्य यकिन गर्न पनि सकिएको छैन । व्यापारीले मनलाग्दी रूपमा दानाको कारोबार गर्ने हुँदा आपराधिक क्रियाकलाप तथा सुरक्षा संवेदनशीलतासमेत बढेको छ । बैङ्कहरूले एक लाख रुपियाँभन्दा माथिको रकम जम्मा गर्दा वा झिक्दा कारोबारको प्रयोजन र उद्देश्य खोज्दै परिचयपत्र मागे पनि करोड मूल्यको बोधिचित्त कारोबार भने बैङ्किङ प्रणालीमा ल्याउन सकेको छैन । 

कागजी रूपमा एकखाले मूल्य हुने भए पनि वास्तविक मूल्य भने कागजी मूल्यभन्दा दुई/तीन गुणा बढी हुने भएकाले स्थानीय सरकार तथा राज्यलाई झुक्याउन र कर छली गर्न नगदमा कारोबार हुने गरेको छ । “बोधिचित्तको दाना खरिद बिक्रीमा संलग्न किसान तथा व्यापारीले दाना खरिदका लागि पेस्की वा दाना बिक्रीबापतको अन्तिम किस्ताको सबै रकम नगद (क्यास) मा नै लिने दिने गरेका छन् ।”