• १६ असार २०८१, आइतबार

वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण

blog

रामेछाप (मन्थली), असार १३ गते । रामेछापको रामेछाप नगरपालिका-७ सुकाजोरका वडाध्यक्ष समीर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ । वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बेँसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो । 

वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गर्नुभएको थियो । “वडामा पर्याप्त मल आउँदैन, न्यून मात्रामा आएको मललाई सामानुपातिकरुपमा वितरण गर्न कठिनाइ हुन्छ, त्यसैले आफूले पाउने सुविधाबाटै किसानलाई निःशुल्क मल वितरण गरेको हुँ”, उहाँले भन्नुभयो । 

यस वर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गरिएको हो । वडाले १० रोपनीभन्दा बढी जग्गामा खेती गरिरहेका किसानलाई एक बोरा तथा सो भन्दा कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताका आधारमा मल वितरण गर्ने नीति बनाएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । रासस