• १६ असार २०८१, आइतबार

किसानको अवस्था मरुभूमिको मृग जस्तो भयो : सांसद पाण्डे

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद विक्रम पाण्डे

काठमाडौँ, असार १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तान (मरुभूमि)को मृगको जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको बताउनुभएको हो ।

रेगिस्तानको मरुभूमिमा मृगले पानीको खोजीमा दौडँदा दौडँदै मृत्युवरण गर्नुपरे जस्तै किसान पनि मल, बीउ र सिँचाइका लागि दौडनु परेको उहाँको भनाइ छ ।

सांसद पाण्डेले किसानहरू मल पाए बीउ नपाउने र बीउ पाए सिँचाइ नपाउने अवस्थामा रहेका बताउनुभयो । उहाँले सबै पाएको अवस्थामा बजारको व्यवस्थापन नहुने बताउनुभयो । सांसद पाण्डेले यसरी देश कता पुर्‍याउन खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो ।

‘‘किसानको अवस्था एउटा रेगिस्तानको मृगको अवस्था भएको छ । जसरी मृगले मरुभूमिमा दौडँदा दौडँदै पानीको खोजमा मृत्युवरण गर्नुपरेको छ, नेपालको किसानहरूको अवस्था त्यस्तै छ । मल पाए बीउ पाउँदैन । बिउ पाए मल पाउँदैन ।,’’ सांसद पाण्डेले भन्नुभयो, ‘‘यो दुईवटै कुरा भयो भने सिँचाइको सुविधा हुँदैन । सिँचाइ भएको ठाउँमा मल र बीउ पाउँदैन । यो सबै भयो भने बजारको व्यवस्थापन भएको छैन । किसानले गाई पालेर, गाई पनि ऋण लिएर आएको गाई र भैँसीको दुध बिक्री गरेको भुक्तानी भएको छैन । यो देश कता जान खोजेको हो ? कता पुर्‍याउन खोजिएको हो ?’’

सांसद पाण्डेले अस्पताल, विद्यालयमा पनि उस्तै समस्या रहेको बताउनुभयो । उहाँले कुनैपनि क्षेत्रमा सहज अवस्था नभएको बताउनुभयो ।