• १६ असार २०८१, आइतबार

उत्पादन बढाउन किसानलाई कृषि सामग्री वितरण

blog

वराहक्षेत्र कृषि शाखाबाट कृषि सामग्री लिँदै किसान । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, असार १३ गते । सुनसरीको वराहक्षेत्र नगरपालिकाले कृषिमा यान्त्रीकरण गरेर उत्पादन बढाउन किसानहरूलाई कृषि सामाग्री वितरण गरेको छ। नगर कृषि शाखाले नगर क्षेत्रका ९८८ जना किसानहरूलाई कृषि सामग्री वितरण गरेको हो ।

कृषिमा आधारित अर्थतन्त्रमा निर्भर रहेको नगर क्षेत्रमा किसानलाई सहयोग पुर्‍याउन वराहक्षेत्र नगरपालिकाले साना सिँचाइ स्यालो ट्युबवेल तथा पानी तान्ने विद्युतीय मोटर वितरण गरेको छ । उत्पादन र गुणस्तर बढाउन नगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानलाई ५० प्रतिशत लागत सहभागितामा आवश्यक सामग्री चार्जेवल टु ईन वान स्प्रेयर टङ्की वितरण सुरु गरेको हो ।

शाखाले ९८८ जना किसानलाई ५० प्रतिशत मूल्य अनुदानमा चार्जेवल टु ईन वान स्प्रेयर टङ्की वितरण गरेको छ । नगर कृषि शाखाका कृषि प्राविधिक निर बहादुर राईका अनुसार पानी तान्ने वोडीङ्ग सेट ७३ जना किसानलाई निःशुल्क वितरण गरिएको छ । वोडीङ्ग सेटमा किसानहरूले पिभिसी पायप, फामको पायप, सेक्सन पायप, जाली पायप, निपल, टिबटल, बेन्ट चेकबल र दुई एचपिको तिन इन्चको मोटर दिएको हो । पालिकाले ४७ लाख बजेट मार्फत किसानहरूलाई सामग्री वितरण गरेको छ ।

नगर कृषि विकास शाखामा किसानहरूले दिएको निवेदनका आधारमा नगर आर्थिक विकास समितिको बैठक बसेर किसानलाई चार्जेवल टु ईन वान स्प्रेयर टङ्की वितरण सुरु गरेको नगर आर्थिक विकास संयोजक तेज बहादुर गुरुङले बताउनु भयो । समितिको बैठकबाटै ७८ जनालाई साना सिँचाइ स्यालो ट्युबवेल र ४४ वटा पानी तान्ने विद्युतीय मोटर ५० प्रतिशत मूल्य अनुदानमा वितरण सुरु गरिएको कृषि शाखाले जनाएको छ ।  

कृषि शाखाले सार्वजनिक सूचना जारी गरेर कृषक, कृषक समूह, कृषि सहकारी र कृषि फर्महरूसँग निवेदन माग गरेको थियो ।

अन्न उत्पादनको लागी उर्वरभूमि मानिने वराहक्षेत्र नगरमा मौसमी, बेमौसमी तरकारी खेती र धान, मकै, गहुँ, गायत रौथाने बाली कोदो खेती हुने गरेको छ । यहाँका किसानहरूले दुध उत्पादनको लागी व्यावसायिक रूपमा पशुपालन समेत गदै आएका छन् । वराहक्षेत्र नगरपालिका क्षेत्रमा ८ हजार हेक्टर क्षेत्रफलमा अन्न खेती हुँदै आएको छ ।