• १६ असार २०८१, आइतबार

राजदूत नियुक्तिको निर्णय सच्याउन सांसद साउदको माग

blog

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको विशेष समयमा मन्तव्य राख्दै सांसद नारायणप्रकाश साउद । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार १३ गते । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताउनुभयो ।

सांसद साउदले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताउनुभयो । उहाँले सत्ता गठबन्धनका बिचमा भागबण्डा गरेर राजदूत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदूत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको जिकिर गर्नुभयो । उहाँले नेपालको कूटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग आग्रह पनि गर्नुभयो ।

‘‘सत्ता गठबन्धनका दलहरूले भागबण्डा गरेर राजदूत नियुक्ति गर्ने काम गरेका छन् । यसरी नियुक्ति गर्दाखेरी केही नियुक्त गरेका राजदूतहरूले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन । त्यसकारण एउटा मापदण्ड विहीन र स्वीकृति विहीन किसिमको ठाउँमा हामीबाट स्वीकृति नलिई हामीले बस्न मिल्दैन भनेर पद परित्याग गरेको अवस्था पनि छ । केही नियुक्त भएका मान्छेहरूको कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुरापनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ ।,’’ सांसद साउदले भन्नुभयो, ‘‘केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनोटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रूपमा राजदूत चयन गर्दैछन् । दलहरूले विज्ञापन निकालेर । यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ । त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ । फिर्ता लिनुपर्छ । नेपालको कूटनीतिक क्षमता, विश्वसनीयतासित खेल्नु हुँदैन । म यो आग्रह गर्न चाहन्छु ।’’

उहाँले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रूपमा भन्नुपर्ने बताउनुभयो ।