• १६ असार २०८१, आइतबार

असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल

blog

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको विशेष समयमा धारणा राख्दै सांसद देवेन्द्र पौडेल । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार १३ गते । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताउनुभएको हो ।

उहाँले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फर्स्यौटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराउनुभयो ।

सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक दलका कार्यकर्ताहरूलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

‘‘असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ । अहिले बजेट पास हुने र अर्को सालको असारमा काम गर्ने र निर्माणका कामहरू, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेटको राम्रो भएपनि नराम्रो भए पनि छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फर्छ्यौट गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।,’’ सांसद पौडेलले भन्नुभयो, ‘‘बजेट कार्यान्वयन गर्न सम्बन्धित निकायले लिङगरिङ गर्नुहुँदैन । बाढी पहिरोले ठुलो जनधनको क्षति गरिरहेको छ । सरकारको तयारी अपूर्ण छ । पार्टीको कार्यकर्ताहरूलाई पनि तत्काल सम्बन्धित पार्टीहरूले निर्देशन दिनुपर्छ ।’’

सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले दुध र उखु किसानहरूको पैसा तत्काल भुक्तानी गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।