• १५ असार २०८१, शनिबार

नजिकिए रुस र उत्तर कोरिया

blog

रुस र युक्रेनबिचको युद्ध पेचिलो बन्दै गएपछि रुसले उत्तर कोरियासँग निकटता बढाएको छ । रुस र उत्तर कोरिया दुवैसँग परमाणु हतियार छन् । रुसको तुलनामा क्षेत्रफलका हिसाबले उत्तर कोरिया निकै सानो भए पनि उसँग परमाणु हतियारसहितको अस्त्र भण्डार ठुलो छ । दुवै मुलुकमाथि चर्को अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइएको छ र पश्चिमा मुलुकहरूबाट एक्ल्याइएको छ । त्यही भएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले वैकल्पिक शक्तिका रूपमा आफ्नो पहिचान बनाउँदै निकटता बढाएसँग यसले विश्वव्यापी रूपमा नयाँ तरङ्ग ल्याएको छ । कसै कसैले यसलाई नयाँ शीतयुद्धको पूर्वाभ्यास भनेका छन् । 

राष्ट्रपति पुटिनले २४ वर्षपछि पहिलो पटक (जुन १९–२०) मा उत्तर कोरियाको दुई दिवसीय राजकीय भ्रमण गर्नुभयो । राजधानी प्योङयाङमा सर्वोच्च नेता किमले रातो कार्पेट ओच्छ्याएर पुटिनको भव्य स्वागत सत्कार गर्नुभयो । उहाँहरूबिच द्विपक्षीय वार्ता र महत्वपूर्ण सम्झौता भए जसले दक्षिण कोरिया, जापान, अमेरिका, नेटो, इयु, जी–सात, संयुक्त राष्ट्रसङ्घलगायतलाई झस्काएको छ । 

रुस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए अर्कोले तुरुन्तै सैन्य सहायता पठाउने सम्झौता गरेका छन् । भ्रमण क्रममा राष्ट्रपति पुटिन र सर्वोच्च नेता किमले शीत युद्धकालीन आपसी रक्षा सन्धि ब्युँताउने खालको सम्झौतामा हस्ताक्षर गर्नुभयो । यो सम्झौतासँगै उत्तर कोरिया वा रुसमा कसैले सशस्त्र हमला गरे दुवै मुलुक सैन्य सहायता पठाएर प्रतिकार गर्ने छन् । उत्तर कोरियासँगको यो सम्झौताले रुसलाई ठुलो राहत मिलेको छ । “दुईमध्ये कुनै एक देशमाथि हमला भयो वा युद्धमा होमियो भने संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ५१ अनुसार अर्को देशले आफ्ना सबै उपलब्ध उपाय प्रयोग गरी तुरुन्तै सैन्य र अरू खालको सहयोग गर्ने छ,” पुटिन र किमले हस्ताक्षर गरेको सम्झौताको धारा ४ मा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घको वडापत्रको धारा ५१ ले कुनै पनि सदस्य राष्ट्रलाई एकल वा सामूहिक रूपमा आत्मरक्षाको कार्य गर्ने अधिकार दिएको छ । यही वडापत्रको धारा ५१ लाई टेकेर रुस र उत्तर कोरियाबिच यो सम्झौता भएकाले दुवै नेताको आत्मबल झन् बढेको छ । 

राष्ट्रपति पुटिनले उत्तर कोरियाको भ्रमणसँगै अर्को कम्युनिस्ट मुलुक भियतनामको पनि भ्रमण गरी सम्बन्ध सुधार र मित्रतालाई नवीकरण गर्नुभयो । यो भ्रमणले पनि उहाँलाई थप बल प्रदान गरेको छ । भियतनामका कम्युनिस्ट नेताहरूसँगको वार्ताले पनि पुटिनलाई थप उत्साही बनाएको छ । उत्तर कोरियाले जस्तै भियतनामले पनि युक्रेनसँगको युद्धमा रुसलाई समर्थन गरेको छ । 

सन् २०२२ को फेब्रुअरी २४ देखि रुस र युक्रेन युद्ध सुरु भएको हो । ७२ घण्टामा पूरा युक्रेन कब्जा गर्ने रणनीति अनुरूप आक्रमण सुरु गरेको रुसले तत्काल लक्ष्यमा पुग्न नसकेसँगै युद्ध लम्बिँदै गयो । युक्रेनले एक्लै युद्ध लड्न नसक्ने भन्दै पश्चिमा मुलुकसँग सहयोग माग्यो । युद्ध सुरु भएको दुई महिनामा आत्मसमर्पण गर्ने चरणमा पुगेको युक्रेनलाई पश्चिमा मुलुकको सहयोगले युद्ध जारी राख्न बल पुगेको छ । बिस्तारै बिस्तारै हतियार, गोलाबारुद, बम र क्षेप्यास्त्र साथै आर्थिक सहयोग पाउँदै गएपछि युक्रेन युद्धमोर्चाबाट पछि हटेन । अहिले त यो युद्ध दुवै पक्षलाई ठुलो प्रतिष्ठाको विषय बनेको छ । रुस यो युद्ध जसरी पनि जित्नुपर्ने अवस्थामा छ । रुसलाई हराउन सकिएन भने युक्रेन रुसमा विलय हुने मात्र होइन, सारा युरोप र अमेरिकाको सुरक्षा खतरामा पर्छ भन्ने पश्चिमा मुलुकको विश्लेषण छ । त्यही भएर आफ्नो स्वार्थ सिद्धिका लागि पश्चिमा मुलुक जसरी पनि युक्रेनलाई जिताउन लागिपरेका छन् । बेलायत र अमेरिकाले आफ्ना हतियार रुसविरुद्ध प्रयोग गर्न युक्रेनलाई अनुमति दिइसकेको छन् । यसले गर्दा रुस–युक्रेन युद्ध तत्काल अन्त्य हुने सम्भावना कम बन्दै गएको छ । 

पश्चिमा मुलुकले उत्तर कोरियालाई र रुसलाई अन्तर्राष्ट्रिय नाकाबन्दी लगाएर कमजोर बनाउन र हराउन हदैसम्मको प्रयास जारी राखेको छन् तर दुवै मुलुक अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइए पनि कमजोर अवस्थामा छैनन् । पछिल्लो यो सम्झौताले दुवै मुलुक झन् शक्तिशाली अवस्थामा पुगेका छन् । रुस र उत्तर कोरियासँग परमाणु हतियारसहित छोटो, मध्यम र लामो दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र छन् । 

राष्ट्रपति पुटिनले त रुसमाथि आक्रमण भएमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिइसक्नुभएको छ । परमाणु हतियार बनाएको भन्दै उत्तर कोरियामाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दी हटाउनु पर्छ भन्ने पुटिनको अडान र ढाडसले सर्वोच्च नेता किमलाई पनि ठुलो राहत मिलेको छ ।

विश्व घटनाक्रमबाट पाठ सिकेका उत्तर कोरियाली नेता र जनता बरु मर्न तयार छन् तर कुनै हालतमा परमाणु हतियार त्याग्न तयार छैनन् भन्दै पुटिनले बारम्बार उत्तर कोरियाको पक्षमा बोल्दै आउनुभएको छ । परमाणु हतियार नभएकै कारण इराकका राष्ट्रपति सद्दाम हुसेनलाई अन्यायपूर्ण ढङ्गले मृत्युदण्ड दिएको र लिबियाका नेता कर्णेल गद्दाफीलाई बीभत्स ढङ्गले मारेको घटनाबाट सचेत हुँदै उत्तर कोरिया झन् कठोर र आक्रामक बनेको छ । उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने परमाणु बम बनाएको छ, जुन अमेरिकाका लागि गम्भीर चिन्ताको विषय बनेको छ । सर्वोच्च नेता किमले रुस भ्रमण गरेको नौ महिनापछि राष्ट्रपति पुटिनले उत्तर कोरिया भ्रमण गर्नुभएको हो । त्यसअघि सन् २०१९ अप्रिलमा पनि किमले रूस भ्रमण गर्नुभएको थियो । पुटिन भने २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा जानुभयो । सन् २००० मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएलगत्तै उहाँ उत्तर कोरिया जानुभएको थियो । त्यति बेला त्यहाँ किमका बुबा किम जोङ इलको शासन थियो ।

उत्तर कोरियालाई तत्कालीन सोभियत सङ्घको सहयोग र समर्थन थियो तर अहिले जस्तो ठुलो महìव दिइएको थिएन । त्यतिबेलाका कुनै सोभियत सरकार प्रमुखले उत्तर कोरिया भ्रमण गरेनन् । कोरिया कब्जा गरेको जापानले दोस्रो विश्वयुद्धको अन्त्यमा आत्मसमर्पण गरेपछि कोरिया विभाजित भयो । उत्तर कोरियामा कम्युनिस्ट शासन र दक्षिण कोरियामा पुँजीवादी शासन कायम भयो । उत्तर कोरियालाई सोभियत सङ्घ र दक्षिण कोरियालाई अमेरिकाको साथ र समर्थन रह्यो । किमका हजुरबुबा किम इल सुङले एकीकरण गरेर कम्युनिस्ट कोरिया बनाउन सोभियत सङ्घकै सहयोगमा सन् १९५० मा दक्षिण कोरियामा आक्रमण गरेसँगै कोरियाली यद्ध भयो । तीन वर्षसम्म चलेको यो युद्धमा २५ लाख मानिसको ज्यान गयो भने भौतिक संरचनाहरू ध्वस्त भए । 

सोभियत सङ्घले उत्तर कोरियालाई हतियार मात्रै दियो, प्रत्यक्ष रूपमा युद्ध लडेन । दक्षिण कोरियाका लागि भने अमेरिकाले सेना पठाएरै लड्यो । सन् १९५३ मा दुई कोरियाबिच युद्धविराम भयो । युद्ध रोकियो तर दक्षिण कोरियाले भने शान्ति सम्झौतामा हस्ताक्षर नगरेकाले प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धमै छन् ।

सोभियत सङ्घको विघटनपछि उत्तर कोरिया भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति पुटिन नै हुनुहुन्थ्यो । त्यतिबेला भने उत्तर कोरिया धेरै शक्तिशाली थिएन, जसले गर्दा रुसले ठुलो अपेक्षा गरेको थिएन तर उत्तर कोरियाले सन् २००६ मा परमाणु हतियार बनाएर शक्तिशाली बनेसँगै विश्वकै ध्यान खिच्न सफल भयो । सन् २०१८ मा तत्कालीन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किमबिच सिङ्गापुरमा शिखर वार्ता भयो । यो वार्तासँगै अमेरिका उत्तर कोरियाप्रति केही नरम भयो तैपनि नाकाबन्दी भने कायमै छ ।  रुसले अहिले उत्तर कोरियालाई ठुलो महत्व दिएको छ । सैन्य बलमा उत्तर कोरिया निकै शक्तिशाली भएर आएको छ । दक्षिण कोरिया र जापानको सुरक्षाका लागि दुवै मुलुकमा अमेरिकी सैन्य अखडा छन् । अमेरिकी सेना नहुने हो भने उत्तर कोरियाले कुनै पनि बेला दुवै मुलुकमाथि आक्रमण गर्न सक्छ भन्ने डर देखाएर अमेरिकाले दक्षिण कोरिया र जापानमा आफ्ना सेना राखी पूर्वी एसियामा आफ्नो प्रभाव कायमै राखेको छ ।

चीन, उत्तर कोरिया, भियतनाम र रुसबिच बढ्दै गएको निकटताले दक्षिण पूर्वी एसियामा आफ्नो प्रभाव कमजोर हुन्छ कि भन्ने चिन्ता अमेरिकालाई छ । आर्थिक र सैन्य शक्ति बनेको चीनलाई उछिन्न नदिन पनि रुस र उत्तर कोरियासँग उसको निकटता नबढोस् भन्ने चाहेको अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गराउनेतर्फ तत्काल कदम चाल्नुपर्ने देखिएको छ । युक्रेनको पक्षमा उभिएर रुसविरुद्ध अमेरिकी र बेलायती हतियार प्रयोग भई रुसी भूमिमा क्षति भयो भने रुस चुप लागेर बस्ने छैन । यस्तो चेतावनी रुसले दिइसकेको छ । त्यो अवस्थामा रुसले परमाणु अतियार प्रयोग गर्न सक्छ, जसले महासङ्कट र अकल्पनीय मानवीय दुर्घटना निम्त्याउन सक्छ । 

त्यसैले गम्भीर मोडमा जाँदै गरेको रुस–युक्रेन युद्धलाई दुवैको हित हुने गरी तत्काल युुद्धविराम गराउन चीनका राष्ट्रपति सी चिनफिङले मस्को भ्रमणका बेला अगाडि सार्नु भएको प्रस्तावलाई सहमतिमा पु¥याउन जरुरी छ । सन् २०१४ मा युक्रेनको क्रिमिया द्विपलाई आफूमा विलय गराएको रुसले अहिले जारी युद्धका क्रममा चार वटा प्रान्तमाथि पनि नियन्त्रण कायम गरेको छ । युक्रेनले युद्धका क्रममा आफ्नो २० प्रतिशत भूभाग गुमाइसकेको अवस्था छ । छिमेकीको विश्वास गुमाइ पराइको आफ्नो बन्न खोज्दा युक्रेनले युद्धको सामना गर्नु परेको हो ।  रुसले जुनसुकै मूल्य चुकाएर भए पनि आफ्नो प्रभाव क्षेत्र कमजोर बन्न दिँदैन । छिमेकी रुसबाट टाढा हुन खोज्नु र त्यसैका लागि अरूको कुरा सुनेर नेटो र इयुको सदस्यता लिन खोज्दा जुन नियति भोग्नु परेको छ यसबाट पाठ सिकेर युक्रेनले युद्धबाट हात उठाउनु नै बुद्धिमानी हुने छ । अब यो जारी युद्ध अन्त्यतिर गएन र रुसविरुद्ध बेलायत र अमेरिकाका हतियार प्रयोग हुन थाल्यो भने यसले क्षेत्रीय युद्धमात्र होइन तेस्रो विश्वयुद्ध निम्त्याउने खतरा छ जुन विश्वकै लागि दुर्भाग्य हुने छ ।

अतः गम्भीर मोडमा पुगेको रुस–युक्रेन युद्ध अन्त्य गराउन अमेरिकाले तत्काल पहल गर्नु पर्छ । अमेरिकाले विश्वमा शान्ति र स्थिरता कायम गराउन युद्धको होइन शान्तिको नेतृत्व गर्नुपर्ने बेला भएको छ ।