• १५ असार २०८१, शनिबार

सोलार बत्तीबाट पानी तानेर वितरण

blog

र्‍यालेखोरमा निर्माण गरिएको १०८ धारामध्ये ६१ औं नम्बरको धारा ।

अमृतप्रसाद पौडेल

म्याग्दी, असार १२ गते । मङ्गला गाउँपालिका –२ र्‍यालेखोरमा सोलार बत्तीको प्रयोग गरेर पानी तानेर गाउँका सर्वसाधारणलाई स्वच्छ पिउने पानी वितरण गरिएको छ ।

र्‍यालेखोर खुम्लिया खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सोलार बत्तीको प्रयोगबाट एकसय ९० मिटर उचाइसम्म लिफ्टिङ पद्धतिबाट पानी तानेर गाउँमा पानी वितरण गरिएको छ । 

गाउँका एकसय छ घर दुई वटा स्कुल गरी कुल आठसय ३० जनसंख्याले पिउने पानीको सुविधा पाएका छन् । एकसय ६ वटा घर र दुई वटा स्कुलमा धारा निर्माण गरिएको र्‍य ालेखोर खुम्लिया खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र आचार्यले बताउनुभयो । 

त्रिभुवन मङ्गला माध्यमिक विद्यालयका विद्यालय व्यस्थापन समिति अध्यक्ष टेकबहादुर क्षेत्रीले पहिला पिउने पानीका लागि पनि लामो समय पर्खिनुपर्ने तथा भाँडा बोकेर पानी लिन जानुपर्ने अवस्था रहेकोमा अहिले भने घरमै धारा बनेपछि पानीको समस्या हटेको बताउनुभयो ।

पहिला स्कुलले ल्याएको पानी मागेर आफ्नो लागि प्रयोग गर्ने गरेको भए पनि अहिले लिफ्टिङ विधिबाट गाउँको पुछारमा रहेको पानीको मुलबाट पानी तानेर गाउँको सिरानमा पुगाएर गाउँभरी बाँडेको स्थानीय डम्बरकुमारी गुरुङले बताउनुभयो । पुछारमा भएको पानी सिरानमा पुराएर फेरि हाम्रै घर अगाडिको धारामा आउँदा खुशी लागेको छ, उहाँले भन्नुभयो ।

जनश्रमदान २२ लाख ७८ हजार चारसय ६८, च्यारीटी वाटर अमेरिकामार्फत नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को ३४ लाख ९० हजार एकसय २६, मङ्गला गाउँपालिकाको २७ लाख ८ हजार तीन सय १६, उपभोक्ताको नगद तीन लाख ७५ हजार दुई सय १२ गरी कुल ८८ लाख ५२ हजार एकसय २२ रुपियाँको लागतमा उक्त लिफ्टिङसहितको खानेपानी आयोजना सम्पन्न भएको हो । 

आयोजना सम्पन्न गर्न स्थानीय तह तथा उपभोक्ताको सहभागिता र श्रमदान निकै महत्वपूर्ण रहेको नेपाल स्वास्थ्यका लागि पानी प्रदेश कार्यालय बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले जानकारी दिनुभयो ।