• १३ असोज २०८१, आइतबार

विद्युत पोल ढल्ने डरले स्थानीय त्रसित

blog

ढल्न लागेको विद्युतका पोल । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु, असार ११ गते ।
 कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ चौवन्नमा विद्युतका पोल ढल्ने डरले स्थानीयमा त्रसित बनेका छन् । सडक निर्माणका क्रममा सारिएका पोल केही दिन अगाडि आएको हावाहुरीले क्षति पुराउँदा बाटोमा हिँड्दा सावधानी अपनाउन परेको छ ।

ढल्न लागेको पोल नजिक पुग्दा जिउँ सिरिङ्ग हुने स्थानीय समाजसेवी देवी प्रसाद बेल्वासेले बताउनुभयो । यो बाटो हुँदै दैनिक हजारौँ मानिस हिँड्ने गर्छन् । वडा कार्यालय र माध्यमिक विद्यालय जाने मुख्य बाटो समेत भएकोले दुर्घटनाको जोखिम बढेको छ । बस्तीसँग जोडिएको करिब आधा किलो मिटर बाटोमा ६ ओटा विद्युतको पोल ढल्ने अवस्थामा रहेको स्थानीयहरू बताउँछन् ।

विद्युतको पोल सिधा बनाउन नेपाल विद्युत प्राधिकरण कृष्णनगरलाई जानकारी गराएको वडा अध्यक्ष प्रमोद आचार्यले बताउनुभयो । हावाहुरीले धेरै ठाउँका पोलमा क्षति पुगेको छ । मर्मत गर्दै आउँदा केही दिन लाग्न सक्ने जवाफ आएको अध्यक्ष आचार्यको भनाइ रहेको छ ।