• १२ साउन २०८१, शनिबार

रघुगङ्गाको बजेट : विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा

blog

रघुगंगामा आयोजित १७ औं गाउँसभा । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असार ११ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने नीति लिएको छ । गरिब तथा विपन्न वर्गको स्वास्थ्य उपचारलाई सहज बनाउन पालिकाले सञ्चालन गर्ने स्वास्थ्य बिमा कार्यक्रमका लागि ११ लाख रुपियाँ बजेटको व्यवस्था गरेको छ । 

गरिब तथा विपन्न नागरिकहरू आर्थिक अभावका कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमानमार्फत स्वास्थ्य बिमा गर्ने कार्यक्रम ल्याएको हो । 

सोमबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न भएको १७ औँ गाउँ सभामा बजेट प्रस्तुत गर्नुहुँदै उपाध्यक्ष प्रेमकुमारी पुनले दिर्घरोगी, गरिब तथा विपन्न नागरिकहरूलाई उपचारमा सहयोग पुगोस् भनेर गाउँपालिकाले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताउनुभयो । आगामी आर्थिक वर्षमा ‘गाउँपालिका अध्यक्ष नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालन गर्न पालिकाले ११ लाख बजेट व्यवस्थापन गरेको उपाध्यक्ष पुनले बताउनुभयो । 

गाउँपालिकाका-८ वटै वडाबाट गरिब तथा विपन्न वर्गहरूको तथ्याङ्क सङ्कलन गरी अधिकतम सङ्ख्यालाई कार्यक्रममा सहभागी गराइने भएको छ । 

यसैगरी मुटुरोग, क्यान्सर, मिर्गौला रोग लगायतका नसर्ने रोगहरूको स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गर्ने र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि महिनाको एक पटक घरघरमा स्वास्थ्यकर्मी परिचालन  गर्न ६ लाख रुपियाँ बजेट व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन, पूर्वाधार, उद्यमशीलतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको पालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । 

गाउँपालिका उपाध्यक्ष पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ४८ करोड ५० लाख ९५ हजार बराबरको बजेट गाउँ सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । बजेटमा सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान ७ करोड ८२ लाख, राजश्व बाँडफाँडबाट ९ करोड २२ लाख, सशर्त अनुदान २१ करोड ६८ लाख, विशेष अनुदान १ करोड २५ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ९४ लाख ५७ हजार, राजश्व बाँडफाँडबाट १ करोड १४ लाख ३८ हजार, समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख रुपियाँलाई बजेटमा समावेश गरिएको उपाध्यक्ष पुनले जानकारी गराउनुभयो । 

त्यसैगरि बजेटमा आन्तरिक राजश्व तर्फ १ करोड ४५ लाख र चालु आर्थिक वर्षमा खर्च हुन बाँकी रहन आउने ४ करोड रुपियाँलाई बजेटको स्रोत अनुमान गरिएको छ ।

गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न २ करोड, सडक मर्मत सम्भारमा ४० लाख, प्रदेश समपूरक योजना अन्तरगत पाखापानी रायखोर घ्यासीखर्क सडकलाई ४० लाख, विपद् व्यवस्थापन योजनामा ४० लाख रुपियाँ बजेट विनियोजन भएको छ । 

गाउँपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगार र आयआर्जन वृद्धि हुने क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।