• १३ असोज २०८१, आइतबार

सम्भावना बोकेका क्षेत्रमा लगानी गर्न जरुरी : मन्त्री चौधरी

blog

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरी । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, असार ११ गते । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले सम्भावना बोकेका क्षेत्रहरूमा स्थानीय सरकारले लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । 

जोशीपुर गाउँपालिकाको १२ औँ गाउँ सभा अधिवेशनमा बोल्दै उहाँले आन्तरिक स्रोत वृद्धि हुने ठाउँमा लगानी गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभएको हो । स्थानीय सरकारको आन्तरिक आम्दानी कम हुने गरेको उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले राजस्व उठाएर आम्दानी गर्न सकिने सम्भावना बोकेका क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । 

कुनैपनि सरकारले बजेट विनियोजन गरेरमात्रै नहुने भन्दै उहाँले कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । “बजेट कार्यान्वयन गर्ने क्रममा थुप्रै चुनौती आउने गरेका छन्”, मन्त्रीले अगाडि थप्नुभयो,“त्यसैले बजेट विनियोजन गरेरमात्रै हुँदैन । कार्यान्वयनतर्फ ध्यान दिनु पर्दछ ।”

जोशीपुर बजारलाई केन्द्रबिन्दु मानेर पाँच किलोमिटर उत्तर र पाँच किलोमिटर दक्षिण बौनियाँ–भजनी सडक कालोपत्रेका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको मन्त्री चौधरीले बताउनुभयो । यसैगरी, झबहीदेखि विष्णापुरसम्मको मूल सडकका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।