• ११ मंसिर २०८१, मङ्गलबार

कैलाशमा ८२ जना कुपोषित

blog

अनिल पराजुली

हेटौँडा, असार १० गते । मकवानपुरको विकट कैलाश गाउँपालिकामा एक वर्षको अवधिमा ८२ जना कुपोषित फेला परेका छन् । गाउँपालिकामा चालु आर्थिक वर्षमा ८२ जना कुपोषित महिला र बालबालिका भेटिएका हुन् । 

जसमध्ये २६ जना कडा शीघ्र कुपोषित र ५६ जना मध्यम शिघ्र कुपोषित रहेका थिए । कुल संख्यामध्ये कुपोषित बालबालिका ४८ छन् भने २६ जना गर्भवती र सुत्केरी महिलामा कुपोषण भेटिएको थियो।

कडा शीघ्र कुपोषणको उपचारको लागि गाउँपालिकाका ३ स्थानमा बहिरंग स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ । ३ नम्बर वडाको कटुन्जे स्वास्थ्य चौकी, ८ नम्बर वडाको भार्ता स्वास्थ्य चौकी र ७ नम्बर वडाको निको स्वास्थ्य चौकीमा केन्द्र राखिएको छ । गाउँपालिकाको ३,४,७ र ८ मा सबैभन्दा बढी कुपोषणका बिरामी छन् । सोही वडाहरुलाई लक्षित गरी उपचार केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

गरिबी र अशिक्षाका कारण प्रयाप्त सन्तुलित आहार नपाउँदा बालबालिका, सुत्केरी तथा गर्भवती महिलामा हुने कुपोषणको दर उच्च मात्रामा रहेको छ । विकटताकै कारण अशिक्षा र गरिबीको चपेटामा परिरहेका समुदायमा कुपोषणको समस्या बढ्दै जान थालेपछि त्यसको पहिचान र उपचारको लागि कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कुपोषण निराकरणमा अभियान नै चलाएको छ । 

कुपोषितको खोजी गरी गाउँपालिकाले कडा शीघ्र कुपोषण भएकाहरुलाई बहिरंग स्वास्थ्य उपचार केन्द्र नै स्थापना गरी उपचार गरिएको छ भने मध्यम शीघ्र कुपोषण भएकाहरुलाई नियमित रुपमा पौष्टिक आहार उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले बताउनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकीका कर्मचारी र स्वास्थ्य स्वयम्सेविका १० वटै वडामा परिचालन गरी एक हप्ते अभियान चलाएर कुपोषित गर्भवती र सुत्केरी महिला(बालबालिकाको खोजी गरिएको थियो । गरिब तथा चेपाङ परिवारमा पोषण कार्यक्रम शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटबाट कुपोषित महिला र बालबालिकालाई नियमित पोषणयुक्त खानेकुरा वितरण गर्नुका साथै उनीहरुलाई आयआर्जनमा सघाउ पुग्ने कार्यक्रम लगिएको शाखा प्रमुख यादवले जानकारी दिनुभयो ।

कुपोषित गर्भवती सुत्केरीका लागि गाउँपालिकाले हरेक बार खाना चार कार्यक्रमअन्तर्गत अण्डा, क्वाटी, हर्लेक्स, घ्यू, मासको दाल, ओखर, काजु र सरसफाइ कीट उपलब्ध गराउँदै आएको छ । त्यस्तै कुपोषित बालबालिकाको लागि पोषण खीर, पोषण खिचडी, पोषण हलुवा मासिक रुपमा उपलब्ध गराउँदै आएको छ । उनीहरुले नियमित रुपमा पोषणयुक्त खानेकुरा कसरी सन्तुलन मिलाएर खाने, बालबालिकाको पोषण खीर, खिचडी र हलुवा कसरी पकाउने भन्नेबारे पनि गाउँपालिकाले सम्बन्धित परिवारका सदस्य राखेर अभिमुखीकरण दिइसकेको छ ।

अशिक्षा, गरिबी र बाल बिवाहका कारण गाउँपालिकामा कुपोषण बढी रहेको गाउँपालिकाका अध्यक्ष लोक मुक्तानले बताउनुभयो । कुपोषितको उपचारका साथै उनीहरुलाई आयआर्जनमुलक काममा जोड्न तरकारीको बिउ वितरण, उन्नत जातको बाख्रा वितरण पनि गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा कुपोषण पुष्टी भएको घरपरिवारका लागि ८ किसिमका तरकारीका बिउबिजन उपलब्ध गराएको छ । कुपोषित परिवारमध्ये पिछडिएको र सबैभन्दा गरिब परिवार पहिचान गरी २१ परिवारलाई प्रति घर एउटाका दरले बोयर जातको बाख्रा वितरण गरिएको हो। 

स्वास्थ्य मापदण्ड अनुसार ५ वर्ष मुनिको बालबालिकाको पाखुराको नाप ११.५ सेन्टिमिटर भन्दा कम भएमा, खुट्टा सुन्निएको र भोक नलाग्ने समस्या देखिएमा त्यसलाई कडा शीघ्र कुपोषण मानिन्छ । साथै ५ वर्षमुनिका बालबालिकाको पाखुराको नाम ११।५ देखि १२.५ सेन्टिमिटर भएमा मध्यम शीघ्र कुपोषण भएको पुष्टी गरिन्छ । यसैगरी गर्भवती र ६ महिनाभित्रको सुत्केरी महिलाको हकमा पाखुराको नाममा २१ सेन्टिमिरभन्दा कम भएमा कडा शीघ्र कुपोषण मानिन्छ । २१ देखि २५ सेन्टिमिटर भएमा मध्यम शीघ्र कुपोषण भएको पुष्टी गर्दै उपचार विधि सुरु गरिने स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले बताउनुभयो ।