यदुप्रसाद भट्ट
मनाङ, असार १० गते । मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भन्ज्याङ ‘थोराङ्ला पास’ आवतजावत गर्ने एक मात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसके पनि यस मार्गमा रहेका खोलाखोल्सी पार गर्न काठेपुलकै भर पर्नु परेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ ।
यसै समस्यालाई ध्यानमा राखी डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले चामे–४ स्थित घट्टेखोलामा दुई वटा काठेपुल निर्माण गरेको छ । जीर्ण भएका दुई वटै काठेपुललाई हटाई नयाँ काठेपुल बनाइएको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले बताउनुभयो । गत जेठ १८ गते गोरखापत्रमा ‘वर्षामा बन्दै छन् काठेपुल’ समाचार प्रकाशित भएपछि डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयले घट्टेखोलामा दुई वटा काठेपुल निर्माण सम्पन्न गरेको हो ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका अनुसार सदरमुकाम चामेमा मात्रै चार ठाउँमा काठेपुल छन् । दुई ठाउँको दुई वटा चाहिँ निर्माण सम्पन्न भइसकेका छन् भने चामे–१, तिमाङस्थित तिमाङ खोलामा, चामे–२ स्थित स्यार्कु खोलामा रहेको काठेपुलको अझै मर्मतसम्भार हुन सकेको छैन । विशेष गरी बर्खाका बेला जीर्ण पुलमा आवतजावत गर्दा बढी नै जोखिम हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।
आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले बर्खा लाग्न थालेपछि घट्टेखोलामा दुई वटा नयाँ काठेपुल निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पक्की मोटरेबल पुल निर्माण गर्न समय लाग्ने भएपछि वर्षामा सहज बनाउने उद्देश्यले नयाँ काठेपुल बनाइरहेका छौँ ।” काठेपुल हटाएर पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि सम्झौता भएको उहाँले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, “यस सडकखण्ड अन्तर्गत १५ वटा पुल निर्माणका लागि डिपिआर भएको छ । बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम अगाडि बढाउने तयारी छ । त्यसपछि काठेपुल विस्थापन हुने छन् ।”
मनाङ पर्यटकीय क्षेत्र समेत भएकाले यहाँ आउनेहरूले यही सडक प्रयोग गर्दछन् । सडकमा काठेपुल मात्रै हुँदा सवारीसाधन आवतजावतमा कठिनाइ छ । सडकखण्डका नौ वटा काठेपुलको यात्रा गरेर तिलिचो ताल, थोराङ्ला भन्ज्याङ पार गर्नुपर्ने भएकाले बाढीको समयमा यात्रा गर्न कठिन हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले यही समस्या समाधानका लागि सडक आयोजनासँग पुल निर्माणबारे छलफल गरी पुल निर्माण अगाडि बढेको बताउनुभयो ।
पर्यटकीय क्षेत्रमा नै पुलको अभाव हुँदा हुने जोखिमलाई ध्यानमा राखी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिए अनुरूप काम अगाडि बढेको उहाँले बताउनुभयो । प्रजिअ लामिछानेले भन्नुभयो, “सधैँ काठेपुलबाट यात्रा गर्न सजिलो हुँदैन । यस विषयमा छलफल हुँदा पक्की पुल नबनेसम्म जीर्ण बनेका काठेपुल मर्मत गरेर समस्या समाधान गरिनु पर्छ भनी केही काम अगाडि बढेका छन् ।”