• १४ असार २०८१, शुक्रबार

माधवको नीति, माधवकै नेतृत्व

blog

जतिबेला देशको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई संशोधन गर्दै ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने तयारी चलिरहेको थियो, नेपालको राजनीति त्यही विन्दुबाट चुनौतीको नयाँ अध्यायमा प्रवेश ग¥यो । प्रकारान्तरमा असंवैधानिक तवरले संसद्को विघटनमार्फत त्यस्तो दुराकाङ्क्षा पूर्ति गर्ने अभ्यास गरियो ।

देशको राजनीतिक क्षितिजमा बितेको चार वर्षयता माधवकुमार नेपालको पछिल्लो पहिचानलाई त्यही चुनौतीपूर्ण अध्यायले स्थापित गर्छ । अर्थात् नेपाली जनताले वर्षौंदेखि लडेर ल्याएका राजनीतिक उपलब्धिसँगै २०७२ सालमा जारी भएको पहिलो सङ्घीय गणतान्त्रिक संविधानसमेतको विघटन गर्ने प्रपञ्चका विरुद्ध विद्रोहको नेतृत्व गर्ने नेताका रूपमा माधवकुमार नेपाल चिनिनुहुन्छ । उहाँले आफूसम्बद्ध राजनीतिक दल नेकपा (एमाले) को मूल नेतृत्वबाट मुलुकमाथि भइरहेको बेइमानीविरुद्ध विद्रोह गरेर राजनीतिक दलका रूपमा २०७८ भदौमा नेकपा (एकीकृत समाजवादी) को स्थापना गर्नुभयो । सोही दल अहिले १० औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ ।

१० औँ नै किन ? 

स्थापना भएको ३३ महिनापछि नेकपा (एकीकृत समाजवादी) महाधिवेशनका निम्ति जुटिरहेको छ । यसले आफ्नो महाधिवेशनका प्रतिनिधि चयन गर्नका निम्ति जारी गरेको मापदण्ड अनुसार सदस्यता प्राप्त भएको कम्तीमा ३६ महिना (तीन वर्ष) हुनुपर्ने उल्लेख गरेको छ । प्रश्न उठेका छन्, स्थापना भएको ३३ महिनापछि हुन लागेको महाधिवेशनका प्रतिनिधिले सदस्यता पाएको कम्तीमा ३६ महिना पूरा गर्नुपर्ने कारण के हो ? अनि, स्थापना भएको तीन वर्ष पनि नपुग्दै महाधिवेशन हुँदै छ । त्यो महाधिवेशन कसरी १० औँ भयो ?

नेपाल र विश्वकै कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि विद्रोह र रूपान्तरणका अनगन्ती घटना छन् । कम्युनिस्ट पार्टीमा चलिरहेको अभ्यास अनुसार एउटा दलभित्र राजनीतिक, सैद्धान्तिक तथा कार्यदिशागत विमति भएमा दलको विभाजन वा विद्रोह अपरिहार्य मान्ने गरिन्छ । त्यसरी विभाजन वा विद्रोह गरिँदा अघिल्लो दलको राजनीतिक तथा साङ्गठानिक विरासतसहित विद्रोह भइरहेको हुन्छ । यसर्थ, एउटा कम्युनिस्ट पार्टीको सदस्य अर्को कम्युनिस्ट पार्टीमा प्रवेश गर्दा ऊ अघिल्लो दलको सदस्यका रूपमा जति इतिहास निर्माण गरेर आएको छ, त्यसैले मान्यता पाउँछ । कोही गैरकम्युनिस्ट दलबाट कम्युनिस्ट दलमा सदस्य बन्न गएमा उसले नयाँ सदस्यका रूपमा पार्टीमा काम गर्नुपर्ने अभ्यास कम्युनिस्ट पार्टीमा हुने गरेको छ ।

यो मान्यता अनुसार हिजोको नेकपा (एमाले) को इतिहास र आदर्श त्यतिबेलासम्म गलत थिएन, जब त्यसले आफ्नो नवौँ महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन ग¥यो । नवौँ महाधिवेशनपछिका गतिविधि क्रमशः नीतिप्रधान नभएर व्यक्तिकेन्द्रित हुन थाल्यो । पार्टीका राजनीतिक तथा साङ्गठानिक गतिविधि अध्यक्ष केपी ओलीको व्यक्तिवादी अहङ्कारको चङ्गुलमा प¥यो । उक्त पार्टीले राष्ट्रिय राजनीति, जनजीविका एवं मुलुकको सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सम्पादन गर्नुपर्ने थुप्रै कार्यभारलाई पार्टीको नीति र सिद्धान्तको अधीनमा रहेर सम्पन्न गरेन । पूर्णतः केपी ओली र उनका भक्तको जय जयकार गाउनुपर्ने स्थितिमा एमाले पुग्यो । 

२०७४ सालको आमनिर्वाचनले एमाले र माओवादी केन्द्रको गठबन्धनले करिब करिब दुई तिहाइ जनमत हासिल ग¥यो । सरकारको नेतृत्व एमाले अध्यक्षका हैसियतले केपी ओलीले गर्नुभयो । त्यसपछि पार्टी एकता भई नयाँ दलको नाम नेकपा कायम भयो । दुई अध्यक्षको अभ्यास गरियो । यति हुँदासम्म पनि दलको सञ्चालन कुनै नीति, विधि र परम्परामा आधारित नभई अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीको व्यक्तिवादी शैलीमा हुन थाल्यो । उक्त शैलीले केवल नेकपाको जीवनमाथि मात्रै चुनौती ल्याएन, मुलुकको सङ्घीयता, लोकतन्त्र र गणतन्त्रमाथि नै अनगन्ती प्रश्न खडा गरे । हुँदाहुँदा २०७७ पुस ५ गते संविधान कुल्चिएर संसद्को विघटन गर्नेसम्मको काम भयो ।

यस्ता गतिविधिका कारण केवल नवगठित एकीकृत दल नेकपा मात्रै विभाजित भएन, पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग हुने परिस्थिति निर्माण हुँदै मुख्यतः पूर्वएमाले दुई चिरामा विभक्त भयो । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति पार्टीभित्रै सङ्घर्ष गर्ने विभिन्न चरणमा असफल भएपछि माधवकुमार नेपाल नेतृत्वको समूह पार्टीबाट विद्रोह गर्न बाध्य भयो र नेकपा (एकीकृत समाजवादी) को स्थापना भयो । 

यसर्थ, अहिलेको १० औँ महाधिवेशन एमालेको ९ औँ महाधिवेशनका अपूरा कार्यभारलाई सम्पन्न गर्नका निम्ति आयोजना भइरहेको हो । किनभने, नेकपा (एकीकृत समाजवादी) भनेको ९ औँ महाधिवेशनसम्मको नेकपा (एमाले) को विद्रोह र रूपान्तरण हो । हिजोका एमालेका सदस्य नै आजको एकीकृत समाजवादी गठनका आधार हुन् । यसबाहेक पार्टी गठन भएयता यसमा विभिन्न कम्युनिस्ट घटकबाट सामेल भएका सदस्य सङ्गठित भएका छन् ।

नीति र नेतृत्व 

नेकपा (एकीकृत समाजवादी) एउटा जटिल र विशिष्ट राजनीतिक परिस्थितिमा स्थापना भएको दल हो । संविधान र राजनीतिक व्यवस्था तथा कम्युनिस्ट आन्दोलनको रक्षाका निम्ति आफैँले स्थापना गरेको दलबाट विद्रोह गर्नुपर्ने बाध्यात्मक स्थितिमा माधवकुमार नेपाल र उहाँको सघन समूह पुगेको थियो । विद्रोह आफैँमा एउटा जटिल चरण हो । यथास्थितिबाट अग्रगमनतर्फ जान नसकिँदा वा अग्रगमनतर्फ जाने मार्ग निषेध गरिँदा विद्रोह अनिवार्य बन्यो र नेकपा (एकीकृत समाजवादी) स्थापना भयो । 

माधवकुमार नेपालको नेतृत्वमा भएको त्यो विद्रोहको सान्दर्भिकता समाप्त भएको छैन । बरु, विद्रोहको औचित्यलाई अझ घनीभूत रूपमा पुष्टि गर्नुपर्ने जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) लाई थपिएको छ । जसरी ०६२÷०६३ सालको जनआन्दोलनअघि सशस्त्र द्वन्द्वमा सामेल नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा ल्याउने नीति माधवकुमार नेपालले अख्तियार गर्नुभयो । त्यसका निम्ति आफ्नो पार्टीका नेतालाई रोल्पा पठाउनेदेखि आफैँ भारतीय भूमिमा पुग्नेसम्मका काम गर्नुभयो र प्रकारान्तरमा उहाँको उक्त नीतिले सार्थकता लियो । 

०६२/६३ को जनआन्दोलनअघि खुला राजनीतिक अभ्यासमा सामेल भएका दलमध्ये माधवकुमार नेपाल नेतृत्वको नेकपा (एमाले) नै थियो, जसले राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको नीति अवलम्बन ग¥यो । त्यो पनि सफल भयो तर, त्यसले मुलुक, जनता र जनजीविकाका पक्षमा यथेष्ट परिणाम दिन सकेन । यसबिचमा दलीय खिचातानीमा मुलुक फँस्यो । स्वयम् माधवकुमार नेपालहरू आफैँले खडा गरेको एउटा गौरवशाली विरासतबाट विद्रोह गरेर कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने चुनौतीपूर्ण चरणमा प्रवेश गर्नुभयो । यसर्थ, फेरि पनि उहाँले नेतृत्व गर्नुभएको नेकपा (एकीकृत समाजवादी) उहाँकै नीति र उहाँकै नेतृत्वका साथ अगाडि बढ्दै छ ।

एउटा जीवन्त राजनीतिक दलभित्र विचार र कार्यशैलीका विषयमा मतभेद वा मतान्तर हुनु स्वाभाविक हो । त्यसमा पनि वैचारिक, राजनीतिक अभ्यासको लामो शृङ्खला पार गरेका थुप्रै नेता संलग्न भएको एकीकृत समाजवादी जस्तो दलभित्र त्यस्तो बहस चल्नु स्वाभाविक मानिन्छ । महाधिवेशनको सँघारमा पुग्दा उक्त दलभित्र नीति र विचारमा विमति छैन । मात्रै, कार्यशैली कस्तो अपनाउने र समृद्ध कम्युनिस्टलाई कसरी अगाडि लैजाने भन्ने बहस चलिरहेको छ । यस सन्दर्भमा अलग अलग विषयमा तीन नेताले अलग अलग दस्ताबेज तयार पारिरहनुभएको छ । माधवकुमार नेपालको नीति र नेतृत्वको जगमा तयार भइरहेका ती दस्ताबेजले मुलुक र कम्युनिस्ट आन्दोलनको समृद्धिलाई सुनिश्चित गर्ने महत्वपूर्ण कदम चाल्ने विश्वास लिइएको छ । अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ र महासचिव घनश्याम भुसालले सङ्गठनात्मक प्रस्ताव पेस गर्नुहुने भएको छ । 

पुस्तान्तरण 

नेपालको राजनीतिक परिदृश्यमा पहिलो पटक एकीकृत समाजवादीले दलभित्र पुस्तान्तरणको औपचारिक र विधिवत् प्रयत्न सुरु गरेको छ । व्यक्तिलाई खुसी पार्न वा भाग पु¥याउने नाममा ठुलो वा भद्दा कमिटी गठन गर्ने क्रमलाई यसले नियन्त्रण गरेको छ । केन्द्रीय कमिटीको सङ्ख्यालाई घटाएर १९९ कायम गरिएको छ । निर्वाचित हुने कुल सदस्यमध्ये २० प्रतिशत युवा हुनुपर्ने वैधानिक व्यवस्था गरिएको छ । ४० वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई युवा मान्दै उक्त उमेरभित्रका करिब ४० जना युवाले अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो सशक्त उपस्थिति जनाउने भएका छन् । 

  

Author

विश्वमणि सुवेदी