फडिन्द्र अधिकारी
लेखनाथ, असार ९ गते । पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई कर छुट दिने निर्णय बदर गरेको छ । आइतबार सुरु भएको १५ औँ नगर सभामा नगर प्रमुख धनराज आचार्यले सुरुमै सो निर्णय बदर गर्न प्रस्ताव गर्नुभएको थियो ।
महानगरले मणिपाललाई करिब २० करोड कर छुट दिएपछि महालेख परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको थियो । महालेखाको प्रतिवेदन सार्वजनिक भएपछि यो निर्णयको सर्वत्र विरोध भएको थियो ।
वि.स. २०५३ मा बनेको बनेको मणिपाल शिक्षण अस्पताललाई महानगरको ०७९ चैत १० गते भएको बैठकले कर छुट दिने निर्णय गरेको थियो । बैठकले २० करोड कर छुट दिएर एक करोड ७५ लाख लिई मणिपाललाई भवन सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको थियो।
प्रमुख आचार्यले नगर सभामा छुट दिने निर्णय बदर गर्न र कर निर्धारण समिति गठन गर्ने प्रस्ताव गर्नुभएको छ । समितिमा सहरी योजना आयोगका सदस्य डा होम गैरे, इन्जिनियर विमल भण्डारी र अधिवक्ता सुवदेव गौतम हुनुहुन्छ ।
नगर सभा सदस्यहरूले कसरी र किन त्यसरी मणिपाललाई कर छुट दिइयो भन्ने छानबिन गर्न माग गरेका छन् । पोखरा महानगरको १५ औँ नगर अधिवेशन आइतबार सुरु भएको छ।