• १० मंसिर २०८१, सोमबार

विद्यार्थीको मनोविज्ञान र शिक्षक

blog

कक्षा ७ मा कक्षाकोठाभित्र बसेर वाक्य निर्माणका क्रियाकलाप गराइरहेकी थिएँ । विभिन्न किसिमका शब्द दिएर अर्थपूर्ण वाक्य निर्माणको क्रियाकलापमा विद्यार्थी दत्तचित्त भएर लागि परेका थिए । विद्यार्थी आफूले निर्माण गरेका वाक्य सुनाउने र देखाउने होडबाजी गर्दै थिए । पढाइमा त्यति सक्रिय नहुने प्रायः अन्तिम बेन्चको कुनामा बस्न मन पराउने एउटा बाबुलाई उठाएर आफ्नो कापी लिएर अगाडि आउन अनुरोध गरेँ । सेतोपाटीमा लेखिएका शब्दलाई उसले कसरी वाक्यमा प्रयोग गरेको होला ? मलाई जान्ने जिज्ञासा थियो । कापी मागेर उसले बनाएका वाक्य पढ्दै गएँ । एउटा वाक्यमा पुग्दा म टक्क रोकिएँ; उसका आँखामा हेरेँ । त्यस बालकका निर्दोष आँखाले मलाई नै हेरिरहेका थिए । उसका अबोध आँखामा मैले गहिरो पीडा, सङ्कोच र कौतूहलता एकै पटक पढेँ । 

वाक्यमा प्रयोग गर्नुपर्ने विभिन्न शब्दमध्ये एउटा थियो ‘प्रशंसा’ । ‘मेरो गुरुले कहिल्यै मेरो प्रशंसा गर्नुहुन्न ।’ उसले बनाएको वाक्य थियो यो । वाक्य पढेर एकछिन दिमाग शून्य भयो । हातमा भएको रातो कलमले उसले बनाएको वाक्यलाई चट्ट काटिदिएँ र त्यसको तल लेखिदिएँ, “मेरी गुरुआमाले सधैँ मेरो प्रशंसा गर्नुहुन्छ ।” वाक्य लेखिसकेर उसको अनुहारमा हेरेँ । मेरो अनुहारमा हेरेर ऊ यसरी मुस्कुरायो, जसरी भर्खरै हाँस्न सिकेको बच्चाले आमाको दुध चुस्दाचुस्दै दुधबाट मुख हटाएर आमाको मुखमा हेरेर मुस्कुराउँछ । मलाई उसको अबोध र निर्दोष हाँसो अति प्रिय लाग्यो । उसको टाउकोमा बिस्तारै छोएर भनेँ, “तिम्रा अक्षर कस्ता राम्रा !” त्यसपछिका हरेक कक्षा कार्यकलापमा ऊ सक्रिय भएर सहभागी हुन थालेको छ । जब उसको नाम लिएर कुनै प्रश्न सोध्छु, ऊ मुस्कुराएर जवाफ दिन तम्सन्छ ।

एक जना विद्यार्थी थिइन्, कक्षा ६ मा पढ्ने । कक्षा सुरु हुँदा सबै विद्यार्थी कक्षाकोठामा हुन्थे तर उनी प्रायः विद्यालय प्राङ्गणमा भएको कपुरको फेदमुनि बसिरहेकी हुन्थिन् । जिज्ञासा लागेर सोधेँ, कक्षाशिक्षकले कक्षामा पस्नासाथ बाहिर निकालिदिनुहुने रहेछ । कक्षाशिक्षकको गुनासो थियो, ऊ व्यक्तिगत स्वास्थ्यप्रति कत्ति पनि सचेत छैन, कहिले नङ नकाटेको त कहिले कपाल नकोरेको या ड्रेस नधोएको निहुँमा बाहिर निकाल्नुपर्ने रहेछ । केही समयपछि म त्यस कक्षामा नेपाली विषय पढाउन थालेँ । उनको समस्या बुझ्ने प्रयास गरेँ । कहिले एक्लै राखेर के के प्रश्न सोध्ने त कहिले साथीहरूका अगाडि उनको प्रशंसा गर्न थालेँ । शिक्षकले गाली मात्रै गर्नु, साथीहरूले आफ्नो प्रशंसा नगर्नु, आफ्नो समूहमा नमिसाउनु नै उनको समस्या भएको पत्ता लगाएँ । कसैले पनि आफूलाई मन नपराएकै कारण उनी विद्यालय आउन नखोज्ने, सरसफाइमा ध्यान नदिने गर्ने रहिछन् । उनलाई गाली गरेर, सजाए दिएर या कक्षाबाट बाहिर निकालेर समस्याको समाधान हुँदैन भन्ने कुरामा म ढुक्क थिएँ । 

एउटा विद्यार्थीको मनोविज्ञानसँग र सिङ्गो जीवन नै जोडिएको विषय भएकाले यसप्रति बेवास्ता गर्न मेरा पेसागत मर्यादाले दिँदैनथ्यो । त्यसैले म समस्या समाधानको उपयुक्त विकल्प र अवसरको खोजीमा थिएँ । एक दिन उनको परिवारका सदस्यसँग उनकै विषयमा कुरा गर्दै थिएँ । कुरैकुरामा उनकी दिदीले सुनाइन्, “ऊ घरमा प्रायः एक्लै बस्छे र मिठो लयमा गीत गाउँछे तर हाम्रो सामुन्ने गाउन लाज मान्छे, उसको स्वर निकै राम्रो छ ।” मलाई समस्या समाधानको सबैभन्दा उपयुक्त उपाय भेटिएको जस्तो लाग्यो । उनको क्षमताबारे बुझिसकेपछि पनि उनको प्रतिभालाई बाहिर ल्याउन लामै कसरत गर्नु प¥यो । जब कक्षाकोठामा अगाडि उभिएर उनले पहिलोपल्ट गीत गाइन्, सबैले ताली बजाएर हौसला बढाए । बिस्तारै उनलाई विद्यालयको बिहानी प्राथना सभामा गीत गाउन लगाएँ, सिङ्गो विद्यालयको ताली र प्रशंसाले उनको स्वभाव अनौठो तरिकाले परिवर्तन हुन थाल्यो । त्यसपछि उनलाई कहिल्यै कुनै शिक्षकले कक्षाकोठाबाट बाहिर निकाल्नु परेन । 

विद्यालयमा हुने हरेक अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक कार्यक्रममा उनको प्रस्तुति अनिवार्य जस्तै हुन थाल्यो । अचेल उनी सङ्गीत सिक्दै एउटा संस्थागत विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन् । म कहिलेकाहीँ सोच्छु, उनलाई प्रशंसा गरी गरी उनीभित्रको अन्तरनिहित क्षमतालाई बाहिर ननिकालेको भए उनको वर्तमान यस्तै हुन्थ्यो होला ? 

यी केही सामान्य उदाहरण मात्रै हुन् । जीवनमा हरेक मान्छे कुनै न कुनै रूपमा प्रशंसा चाहन्छ । कसैले म प्रशंसाको भोको छैन भन्छ भने कि ऊ झुट बोलिरहेको छ कि त उसलाई आफ्नो जीवनप्रति नै वितृष्णा छ । यस सन्दर्भमा बालक आफ्ना गुरु तथा अभिभावकबाट झनै धेरै प्रशंसा चाहन्छ । शिक्षकले गरेको एउटा मात्रै प्रशंसाले उसको जीवनमा सकारात्मक परिवर्तन ल्याइदिन सक्छ भने हतोत्साहनले ठुलो मानसिक आघात पनि पर्न सक्छ । यस सन्दर्भमा म आफ्नै जीवनमा घटेका दुई घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दछु । 

एक दिन मामाघर जाँदा त्यहाँका साथीहरूसँग त्यहीँको विद्यालयमा गएकी थिएँ । नयाँ विद्यार्थी देखेर त्यहाँ पढाउने शिक्षकले मलाई उठाएर मेरा बारेमा धेरै प्रश्न सोध्नुभयो । मैले पनि पूर्ण आत्मविश्वासका साथ परिचय दिएँ; आफू विद्यालय प्रथम भएर कक्षा ४ बाट ५ मा पुगेको कुरा बडो गर्वले सुनाएँ । मेरा कुरा सुनेर शिक्षकले अचानक कक्षाका सारा विद्यार्थीका सामु मेरो आवाजको उपहास गर्नुभयो । मेरो आवाजलाई कस्तो धोद्रो, केटाको जस्तो आदि आदि ...... भन्नुभयो । एकैछिन अगाडि वसन्त ऋतुको गुराँस झैँ मुस्कुराइरहेको मेरो अनुहार घामले ओइलाएको कर्कलो जस्तै भयो । यस घटनाले मलाई यति गहिरो असर पा¥यो कि म लामो समयसम्म यो मानसिक आघातबाट बाहिर निस्कन सकिन । मेरो आवाज नराम्रो छ भन्ने कुण्ठा बोकेर बाँचिरहेँ । आफ्नो आवाजलाई कहिल्यै प्रेम गरिन । जब बुझेँ, महिलाको आवाज सुरिलो, नम्र, मिठो हुनु पर्छ भन्ने त पितृसत्ताले निर्माण गरेको भाष्य पो रहेछ, त्यसपछि बल्ल म आफ्नो आवाजलाई प्रेम गर्न थालेकी छु । आफूले जान अन्जानमा बोलेका केही शब्दले फक्रँदै गरेको बालमस्तिष्कमा परेको गहिरो आघातको सायद उहाँलाई कल्पनासम्म पनि भएन होला । म भने आज पनि उहाँको अनुहार झलझली सम्झिरहेकी छु ।

मेरा एक जना गुरु हुनुहुन्थ्यो, जब म मञ्चमा उभिएर बोल्न हिचकिचाउथेँ, उहाँले ममा आत्मविश्वास भर्दै भन्नुहुन्थ्यो, “तिमीले पनि नबोले कसले बोल्छ ? तिमीले पनि नसके कसले सक्छ ?” म आफैँलाई प्रश्न गर्थें, गुरुले त मैले सक्छु भन्ने सोच्नुभएको छ भने मैले किन सक्दिन ? जब म आफ्नो प्रस्तुति दिएर मञ्चबाट ओर्लन्थेँ तब गुरुले भन्नुहुन्थ्यो, “गज्जब बोल्यौ !” त्यतिबेला फुरुक्क पर्न अरू केही चाहिँदैनथ्यो, मात्रै यति सम्झे पुग्थ्यो, “गज्जब बोल्यौ !” म खुसी खुसी अर्को कार्यक्रमको तयारीमा जुट्थेँ । 

विद्यार्थी जीवनमा गुरुहरूले गरेको प्रशंसाले विद्यार्थीमा दीर्घकालीन छाप छोड्छ । गुरुको प्रशंसाबाट प्रभावित भएर विद्यार्थी सकारात्मक अभ्यासमा प्रेरित भएका थुप्रै उदाहरण म आफ्नो कक्षाकोठा, व्यक्तिगत तथा सामाजिक जीवनमा देखे भोगेकी छु तर लामो समयको अध्यापन अनुभवमा गाली, अपमान, सजायले विद्यार्थीमा सकारात्मक परिवर्तन आएको उदाहरण मैले आजसम्म भेटेकी छैन । कक्षाकोठाभित्र वा बाहिर विद्यार्थीलाई तँ कमजोर छस्, केही गरेर खाँदैनस् जस्ता अपमानजनक व्यवहार र बोलीले विद्यार्थीको स्वाभिमानमा गहिरो चोट पर्छ । विद्यार्थीलाई दिइने शारीरिक यातना बरु क्षणिक हुन्छ । आज शारीरिक यातना भोगेको विद्यार्थी भोलि मुस्कुराउँदै त्यही शिक्षकलाई नमस्कार गर्न आइपुग्छ तर उसको स्वाभिमानमाथि चोट पर्ने गरी गरिएका व्यवहार र प्रयोग गरिएका शब्दका घाउ भने त्यति सजिलै पुरिँदैनन् । त्यस कारण पनि अभिभावक तथा शिक्षकहरूले बालबालिकाको मनोभावना बुझेर उनीहरूको अन्तरनिहित क्षमतालाई बाहिर निकाल्न मद्दत गर्नु पर्छ ।

हामीले यातनारहित तथा बालमैत्री विद्यालय वातावरणको परिकल्पना र अभ्यास गरिरहेको वर्तमान सन्दर्भमा घर होस् या विद्यालयमा बालबालिकालाई दिइने शारीरिक तथा मानसिक यातनाको उपयुक्त विकल्प बन्न सक्छ प्रशंसा । हामी शिक्षक विशेष गरी यस कुरामा सचेत हुनु पर्छ कि हामी विद्यार्थी हुँदा हाम्रा गुरुहरूबाट कस्तो व्यवहारको अपेक्षा गरेका थियौँ ? हामी प्रशंसा पाउँदा कति पुलकित हुन्थ्यौँ र अपमानले कति दुःखी ? जब प्रशंसाबाट नै विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ भने यति सकारात्मक कुरामा हामीले कन्जुस्याइँ नै किन गर्ने ? म आफैँलाई प्रश्न गर्छु, विद्यालयले असक्षम, बदमास र कमजोर भनेर निकालिदिएको थोमस एल्बा एडिसनको अद्भूत क्षमता बुझेर उनकी आमाले उनको प्रशंसा नगरेको भए या तिम्रा गुरुहरूले तिम्रो प्रशंसा गरेका छन् भन्ने मानसिकता उसमा नभरिदिएको भए के एडिसन एडिसन नै बन्ने थिए त ? हाम्रा विद्यालयमा पनि कैयौँ यस्ता एडिसनहरू छन्, जसलाई हामीले उनीहरूका विषयवस्तु बाहिरका क्षमतालाई बुझेर “गज्जब ग¥यौँ” भनिदिनु पर्ने छ । 

  

Author

सावित्रा पाण्डे