• १२ असोज २०८१, शनिबार

आठ प्रदेश सभा सदस्यले फिर्ता गरेनन् ल्यापटप

blog

सुदूरपश्चिम प्रदेश सभा भवन। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार ८ गते। सुदूरपश्चिम प्रदेश सभाका आठ जना प्रदेश सभा सदस्यले प्रदेश सभा सचिवालयले दिएको ल्यापटप लगायतको सामान फिर्ता दिएका छैनन्। 

काम कारबाहीलाई सहज बनाउनका लागि प्रदेश सभा सचिवालयले सबै सदस्यलाई एक/एक थान ल्यापटप दिएको थियो। तर, आठ जना प्रदेश सभा सदस्यको कार्यकाल २०७९ भदौ १७ गते सकिए पनि ल्यापटप लगायतका जिन्सी सामान फिर्ता गर्न बाँकी रहेको महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ मा उल्लेख छ। 

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ मा जिन्सी सामान पाउने पदाधिकारी तथा सदस्यले आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनभित्र ती सामान फिर्ता गर्नु पर्ने व्यवस्था छ। तर, कार्यकाल सकिए पनि सात लाख ८७ हजार रुपियाँ बराबरको ल्यापटप तथा कार्यालय सम्बन्धी सामानहरू फिर्ता हुन बाँकी रहेको बताइएको छ। 

फिर्ता हुन बाँकी रहेको जिन्सी सामग्रीहरू फिर्ता गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ। सामान फिर्ता नगरेका पूर्व सदस्यको नाम भने प्रतिवेदनमा उल्लेख गरिएको छैन। पहिलो कार्यकालको प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहनू भएको थियो।