• १४ असार २०८१, शुक्रबार

राजविराज-सखडा सडकखण्ड मर्मत गरिँदै

blog

हिलाम्मे सडक । फाइल तस्बिर

राजविराज (सप्तरी), असार ८ गते । वर्षाको समयमा राजविराज-सखडा र सखडा-नेउर सडकखण्डमा आवागमनमा समस्या हुने भएकाले पाँच दिनभित्र मर्मत गरिने भएको छ । छिन्नमस्ता गाउँपालिकामा सडक डिभिजनका कर्मचारीसहित स्थानीय जनप्रतिनिधिको बैठकले आवश्यक मर्मतसम्भार गरी आवतजावत सहज बनाउन तत्काल काम सुरु गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । 

वर्षाले हिलाम्मे भई आवतजावत अवरुद्ध भएको उक्त सडकलाई पाँच दिनभित्र मर्मत गरिने सडक डिभिजन कार्यालय लहानका प्रतिनिधि र ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष चौधरीले भन्नुभयो, “पाँच दिनमा सडक स्तरोन्नति गरी वर्षामा सहज आवागमन बनाउने सहमति भएको छ । छैटौँ दिनसम्म काम सम्पन्न जनप्रतिनिधिसहित स्थानीय सडक डिभिजन कार्यालयमा धर्नामा बस्ने निर्णय गरेका छौँ ।”

रुपनी-छिन्नमस्ता २२ किलोमिटर सडकमा बोलपत्र आह्वान भए पनि कामले गति लिन सकेको छैन । अहिले वर्षाको समयमा राजविराज हुँदै छिन्नमस्ता दर्शनका लागि आउने जाने श्रद्धालुले सास्ती खेप्नु परेको छ । रासस