• १२ असोज २०८१, शनिबार

नाग्म-गमगडी सडक स्तरोन्नति गरिँदै

blog

नाग्म-गमगडी सडक । फाइल तस्बिर

जुम्ला, असार ८ गते । आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रूपमा रहेको रारातालसम्म पुग्ने नाग्म-गममडी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ । 

सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचना अनुसार यही असार ९ देखि २३ गतेसम्म बिहान ५:३० देखि बिहान १० बजे र दिउँसो १ देखि ४ बजेसम्म सवारी आवागमन बन्द हुने छन् । निर्माणाधीन नाग्म-गमगडी सडकखण्डको कनका सुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले यातायात बन्द गर्नु परेको सडक डिभिजन कार्यालयका प्रमुख चेतनारायण मण्डलले बताउनुभयो । 

नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने उक्त सडकलाई स्तरवृद्धि गर्न लागिएकाले काम गर्न सहज बनाउने उद्देश्यले यातायात बन्द गरिने उहाँले जानकारी दिनुभयो । निर्माण अवधिमा यातायात बन्द हुने भएपछि रारा आउने पर्यटकका साथै मुगु आवतजावत गर्ने यात्रुलाई सास्ती हुने स्थानीय बताउँछन् । नाग्म-गमगडी सडकको पहिलो चरणमा छ किमी सडक कालोपत्रे भएको छ । बाँकी चरणबद्धरुपमा सडकलाई कालोपत्रे गरिने जिल्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ । रासस