• १४ असार २०८१, शुक्रबार

गाउँपालिकामा बाँदर आतङ्क

blog

बाँदर आतंकले हैरान जानकी –५ का स्थानीय । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ८ गते । बाँकेको जानकी गाउँपालिकामा केही समय यता ठुलो सङ्ख्यामा आएका बाँदरका कारण स्थानीयहरू आतङ्कित बनेका छन् । 

वडा नम्बर ५ गुरुवा गाउँमा बाँदरले बालीनालीमा क्षति गर्नुका साथै घरमा भएको सामान लैजाने र विशेषगरी स्कुले बालबालिकामाथि आक्रमण गर्ने गरेपछि स्थानीयहरू त्रसित छन् ।

गत केही समय यता जानकी गाउँपालिका वडा नम्बर ५ स्थित गुरुवा गाउँमा बाँदरको समूहले आतङ्क मच्चाउँदै आएको छ । दिउँसै गाउँ–टोलमै प्रवेश गरी घरमा भएको सामान लैजाने र विद्यार्थीमाथि आक्रमण गर्दा केही बालबालिका घाइते  भएको स्थानीय धनपति भुजवाले बताउनुभयो । 

उहाँले घरमा कोही नभएको मौका पारी बाँदरले सरसामान फालिदिने, खाने र लैजाने गरेको पनि बताउनुभयो । बाँदरले विद्युत तथा नेटका तार समेत छिनाल्ने गर्दा स्थानीय आजित भएका छन् । 

बाँदर दिनरात कुनै पनि बेला घरमा प्रवेश गर्ने र खाना लगायतका खाद्यवस्तु खाने तथा बालबालिकालाई आक्रमण गर्नुका साथै ढोकाहरू खोलेर भाँडा उठाएर लग्ने र पकाएको खाना समेत लगिदिने गरेको अर्का स्थानीय मोहनकुमार मिश्रको गुनासो छ ।

सोही प्रकारले विद्यालयमा प्रवेश गरी विद्यार्थीको खाजा खोसेर खाइदिने लगायतका क्रियाकलापबाट आफूहरू समस्यामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी सिताराम वर्मा र अमिन साइको दुखेसो छ । 

विद्यालयमा पढाइरहेको समयमा कक्षा कोठामा समेत बाँदर प्रवेश गर्ने गरेका कारण विद्यार्थी आतङ्कित भई पढाइ प्रभावित भएको राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँ ५ की प्रधानाध्यापक सन्ध्या शर्माले बताउनुभयो । उहाँले बाँदर नियन्त्रण तथा टाढा भगाउने काम स्थानीय सरकारले गर्नु परेको प्रधानाध्यापक शर्माले माग गर्नुभयो । 

बढ्दो बाँदर आतङ्क नियन्त्रणका लागि स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ बाट नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेर कार्यक्रम बनाइने वडा ५ का वडा अध्यक्ष टिकानाथ यादवले बताउनुभयो ।