• १३ असोज २०८१, आइतबार

नेपाल र अंग्रेज युद्धलाई सम्झाउने जितगढी किल्ला (फोटो फिचर)

blog

बुटवल उपमहानगरपालिका–१ स्थित तिनाउको छेउमा अवस्थित ऐतिहासिक जितगढी किल्ला । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, असार ८ गते । 
तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको जितगढी किल्ला ऐतिहासिक स्थल हो । यतिबेला यो किल्लाको मुहार बदलिएको छ । वीरताको प्रतिकका रूपमा रुपन्देहीको जितगढी किल्ला चीर परिचित छ । नयाँ स्वरूपमा यसको विकास भइरहेको छ । इष्ट इण्डिया कम्पनीसँग वि.स.१८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरेका थिए ।

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहाससँग जोडिएको यो किल्ला हेर्न लायक बनेको छ । बुटवल वडा न १ मा रहको यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो गन्तव्य बन्दै गइरहेको छ ।


बुटवल उपमहानगरपालिकाले त्यही ऐतिहासिक महत्त्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रूपमा विकास गर्न थालेपछि जितगढीको मुहार बदलिएको नगरप्रमुख खेलराज पाण्डेयको भनाइ छ । यसलाई नेपालकै हेर्न लायक बनाउने उहाँको धारणा छ ।

गुरुयोजना बनाएरै जितगढीको विकासका लागि काम सुरु गरिएपछि कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको सालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएपछि यहाँको दृश्य हेर्न लायक बनेको छ ।

उपमहानगरपालिकाले किल्लामा भएको अतिक्रमणलाई हटाएर यसको पहिचान र  अस्तित्वको जर्गेना गरेको छ । जितगढीमा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकहरूको सालिक निर्माण गरिएको हो ।

जितगढी किल्लाकै स्वरूपमा निर्माण गरिएको कलात्मक प्रवेशद्वारबाट भित्र प्रवेश गर्ने बित्तिकै बायाँतर्फ लस्करै १३ जना सैनिकहरूका अर्धकदका सालिक देख्न सकिन्छ ।


सो स्थानमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा , सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, जुठे बस्नेत र शमशेर राना मगरले वीरगति प्राप्त गरेकाले उहाँहरूको लस्करै सालिक त्यहाँ बनाइएको हो ।

५० लाख रकम विनियोजन गरी काम सुरु गरिएकोमा गतवर्ष पनि एक करोड बजेट विनियोजन गरी गुरुयोजना बनाएरै सम्पदा स्थलमा विभिन्न संरचना निर्माण गरिएको छ ।

किल्लामा ८ करोड १२ लाख ८९ हजार २७ रुपियाँ लागतसहितको काम सकिएको हो । किल्ला नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण समेत गरिसकेको छ ।

गुरुयोजनामा जितगढी युद्ध सङ्ग्रहालय, सूचना केन्द्र, पुरानो बुटवललाई प्राचीन बजार र पुरातात्त्विक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ ।

अहिले सो स्थानमा दैनिक सरसफाइ, पहिचान दिने खालका तस्बिरहरू, नक्सा, पुरानो नेपाल लगायतका तस्बिरहरू पनि राखिएको वडा न १ का जनप्रतिनिधि अशोक राईले बताउनुभयो ।