• १४ असार २०८१, शुक्रबार

बाँकेमा लागूऔषध नियन्त्रण अभियान

blog

लागूऔषध नियन्त्रणका लागि विमानस्थलमा तालिमप्राप्त कुकुरले चेकजाँच गर्दै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ ७ गते । भारतीय सिमानासँग जोडिएको बाँके जिल्लामा केही समययता विभिन्न प्रकारका लागूऔषधको ओसारपसार, सेवन र बिक्री बढ्दै गएपछि प्रहरीले “लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान–२०८१” सञ्चालन गरेको छ । 

लागूऔषधविरुद्धको सो अभियान अन्तर्गत प्रहरीले यहाँस्थित नेपाल भारत नाका जमुनाहामा विशेष सतर्कता अपनाउनुका साथै विभिन्न नाका, बसपार्क र सार्वजनिक स्थलमा प्रहरी परिचालन गरेर चेकजाँचमा कडाइ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले लागूऔषध नियन्त्रणका लागि चलाइएको विशेष अभियान अन्तर्गत तालिम प्राप्त कुकुरलाई परिचालन गरेर नेपालगन्जस्थित विमानस्थल लगायतका स्थानका चेकजाँच कडा पारिएको बताउनुभयो । 

एक विशेष प्रहरी टोलीले तालिम प्राप्त कुकुरको माध्यमबाट नेपालगन्जस्थित राँझा विमानस्थलमा चेकजाँच गरेको डिएसपी डाँगीले बताउनुभयो । उहाँले कुकुर सहितको सो टोलीले विमानस्थलमा आवागमन गर्ने यात्रुको सामान चेकजाँच गरेको जानकारी दिनुभयो । 

सोही प्रकारले तालिम प्राप्त कुकुरसहितको विशेष टोलीले नेपाल भारत नाकाको जमुनाहा र नेपालगन्ज बसपार्क क्षेत्रमा पनि लागूऔषध चेकजाँच गरेको प्रहरी प्रवक्ता डाँगीले बताउनुभयो । 

नेपाल भारत खुला सिमानाकै कारण सीमापारि रुपैडिहा लगायतका स्थानबाट लागूऔषध ब्राउनसुगर र विभिन्न प्रकारका अन्य लागूऔषध सहजरुपमै नेपालमा भित्रिने भएकोले नियन्त्रणमा समस्या आएको विभिन्न कार्यक्रममा पटकपटक बताइने गरिएको छ । 

नेपाल प्रहरीले भारतीय प्रहरीलाई सीमापारी लागूऔषध बिक्रीमा कडाई गर्न पटकपटक आग्रह गर्दा सकारात्मक जवाफ दिँदै आएको भारतीय प्रहरीले सीमापारि खासै कडाइ गरेको देखिँदैन ।