• १२ असोज २०८१, शनिबार

खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार : अध्यक्ष दाहाल

blog

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल छैटौं इण्डो–नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप प्रतियोगिताको उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : संसद सचिवालय

काभ्रे, असार ७ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको बताउनुभयो ।

शुक्रबार छैटौं इण्डो–नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिन्छ जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिलेको अवस्थामा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कूटनीति, अर्थतन्त्र एवम् सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ । राज्यले खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, आवश्यक नीतिहरू निर्माण गर्न, संस्थागत एवम् संरचनागत विकास र खेलाडीहरूको वृत्तिविकासका साथै क्षमता अभिवृद्धि गर्न जरुरी छ । राष्ट्रिय सभाको अध्यक्ष हुनुको नाताले मैले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक ऐन कानुन निर्माण र भएका कानुनहरुको कार्यान्वयनका लागि उपयुक्त पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’’

यसैगरी, खेलकुदका विविध विधामध्ये सोतोकान कराँते पनि एक महत्त्वपूर्ण विधा भएको उहाँले बताउनुभयो । त्यसलाई समयसापेक्ष अगाडि बढ्ने क्रममा निकै सङ्घर्ष गर्दै आज सोतोकानको रुपमा यहाँ प्रस्तुत भएको बताउनुहुँदै अध्यक्ष दाहालले नेपालमा सोतोकान कराँतेको स्थापना र विस्तारमा नेतृत्वदायी भूमिका खेल्नुभएको व्यक्तित्व आजको यस प्रतियोगिताको अध्यक्षता गर्नुभएका हेमकुमारजी हुनुहुन्छ भन्ने थाहा पाउँदा मलाई गौरवको अनुभूति भएको बताउनुभयो ।