• १२ असोज २०८१, शनिबार

योगप्रति बढ्दै आकर्षण

blog

घोराहीमा योग साधना गर्दै मानिस । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, असार ७ गते ।
नियमित ध्यान र साधनाले स्वस्थ रहनसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि पछिल्लो समय जिल्लामा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ ।  योग अभ्यास र साधनाले शारीरिक मानसिक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने भएपछि युवादेखि वृद्धवृद्धासम्म योगमा लाग्नुभएको छ । 

मानिसको व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई शारीरिक रुपमा स्वस्थ राख्नसँगै तनाव व्यवस्थानमा गर्न सहयोग गर्ने भएपछि विगत एक वर्षदेखि नियमित योग गर्न थालेको घोराही उपमहानगरपालिका–१५ निवासी ओमप्रकाश शर्मा बताउनुहुन्छ । कामको व्यवस्ता भए पनि हरेक दिन बिहान समय निकालेर योग गर्ने गरेको शर्मा बताउनुहुन्छ ।

बिहानको समयलाई योग र साधनामा लगाउँदा शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन सहयोग पुग्ने गरेको भन्दै शर्माले भन्नुभयो, ‘‘दिनभर आफ्नो काम गरे पनि बिहान केही समय व्यक्तिगत स्वास्थ्यका लागि दिनुपर्छ भन्ने महसुस भएको छ ।

नियमित ध्यान र योग गर्नाले शारीरिक स्वास्थ्य र फुर्तिलो बनाउन सहयोग गर्दछ ।’’ योग र ध्यानले शारीरिक स्फुर्तिसँगै सकारात्मक सोचको विकासमा मद्दत गर्ने गरेको बताउनुहुन्छ ।

उहासँगै घोराहीकै निवासी कमला श्रेष्ठले पनि नियमित योग गर्दै आउनुभएको छ । नियमित रुपमा योग अभ्यास गर्दा मानसिकसँगै शारीरिक रुपमा स्वस्थ्य भएको महसुस गरेको श्रेष्ठ बताउनुहुन्छ । योगले मनको अशान्तिलाई हटाएर शान्त बनाउनका लागि शारीरिक रुपमा स्वस्थ गर्न सहयोग गर्ने गरेको अनुभव सुनाउनुभयो ।

नियमित योग अभ्यासले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्नसँगै सकारात्मक सोचको विकासका लागि सहयोग गर्ने पतञ्जली योग समितिका लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रशिक्षक प्रेम शाह बताउनुहुन्छ ।

उहाँका अनुसार पछिल्लो समय मानिसहरुले खानपिन र जीवनशैलीमा ध्यान नदिँदा अस्वस्थ हुने र खर्च बढन् गरेको भन्दै यसलाई हटाउन योगले सहयोग गर्ने बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘‘खानपान र जीवनशैलीका कारण प्राय ःमानिसहरुको शरीर भद्दा हुने, अस्तव्यस्त र अस्वस्थ रहने भएकाले आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।’’ पछिल्लो समय बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलतबाट बच्नको लागि पनि धेरै मानिसहरु योगमा लागेको बताउनुहुन्छ ।